१५ चैत्र २०८०, बिहीबार
Follow Us

गण्डकी प्रदेशका तीन विधेयक प्रमाणिकरण

sarusaru
२५ चैत्र २०७५, सोमबार १२:२१

पोखरा, २५ चैत गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेका तीन वटा विधेयकलाई प्रमाणिकरण गरेका छन् ।
प्रदेश प्रमुख कुवँरले ‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’,‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सोमबार प्रमाणिकरण गरेका हुन् ।
‘ताल संरक्षण तथा विकास प्राधिकरण सम्बन्धी विधेयक’ फागुन २७ गते ‘प्रदेश औद्योगिक व्यवसाय विधेयक’ चैत १ गते र ‘गण्डकी प्रदेश प्रतिष्ठान (संचालन तथा व्यवस्थापन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ चैत ११ गते बसेको प्रदेश सभा बैठकले पारित गरेको थियो ।
पारित गरिएका तीन वटै विधेयकलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले चैत १ गते प्रमाणित गरेका थिए । सभामुख अधिकारीले प्रमाणित गरेका तीन वटै विधेयकलाई प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले सोमबार नै पाँच÷पाँच प्रति विधेयकमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि विधेयक ऐन बन्छ ।
प्रमाणिकरणका लागि पठाइएका विधेयकलाई प्रमुख कुँवरले कानुन बनाउन सजिलो होस् भन्ने अभिप्रायले पाउने बित्तिकै प्रमाणिकरण गरेर पठाइदिने गरेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव विश्वप्रकाश न्यौपानेले जानकारी दिए ।
निमित्त सचिव न्यौपानेका अनुसार प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेका ती विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति पठाइएको छ ।