१२ बैशाख २०८१, बुधबार
Follow Us

आन्दोलनरत चिकित्सकमाथि कारबाहीको चेतावनी

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार १५:४७

काठमाडौं– ४ दिनदेखि ओपीडीको काम ठप्प पारेर आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकमाथि सरकारले कारबाहीको चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
आम नेपालीले तिरेको करबाट ठूलो धनराशि खर्च गरी उत्पादन गरिएका चिकित्सकहरुले नेपाली नागरिकले संविधानतः पाउनुपर्ने स्वास्थ्य सेवालाई सुचारु गर्न परम कर्तव्य भएको स्मरण गराउँदछौं’, स्वास्थ्य मन्त्रालयका सहसचिव जनार्दन गुरायाईँले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘मन्त्रालयको यस अपिललाई वेवास्ता गरी आन्दोलन जारी राखेमा आवश्यक सेवा सञ्चालन ऐन, २०१४ र अन्य प्रचलित कानुनको अधिनमा रही कारबाही प्रक्रिया अघि बढाउन नेपाल सरकार बाध्य हुने व्यहोरा जानकारी गराइन्छ ।’
सरकारले आवश्यक कारबाही गर्दा चिकित्सकलाई पर्न जाने असरको जिम्मेवार स्वयम् चिकित्सक हुने पनि सरकारले स्पष्ट पारेको छ ।
चैत्र २२ शुक्रबार देखि कर्मचारी समायोजनमा सरकारी चिकित्सकलाई संघ अन्तर्गत राख्नु पर्ने माग गर्दै उनीहरुले ओपीडी सेवा बन्द गरेर आन्दोलन गर्दै आएका छन् ।