१४ बैशाख २०८१, शुक्रबार
Follow Us

पोर्तुगलमा स्याङ्जाका एक नेपाली युवकको निधन

नेपालब्रिटेन डट कम्
२५ चैत्र २०७५, सोमबार १९:४२

योगेन्द्रमिलन छन्त्याल। लिस्बन । पोर्तुगलमा फेरि अर्का एक नेपाली युवकको निधन भएको छ । स्याङ्जा टक्सारका बिदुर रेग्मीको आइतबार अल्कान्त्रा चोकको सडक छेउमा निधन भएको हो । माल्भेरामा काम गर्ने २९ वर्षीय रेग्मी तीन वर्ष अगाडि एक कृषि कम्पनीमार्फत कामदार भिसामा पोर्तुगल आएका थिए ।

उनको शव साओ जोजे अस्पातलमा राखिएको छ । प्रहरीले केही न्यायिक प्रकृयासहित पोष्टमार्टमको रिपोर्ट आउन समय लाग्ने बताएको छ । मृतकको परिवारले शव नेपाल पठाइदिन अनुरोध गरेका छन् । रिपोर्ट प्राप्त हुनेबित्तिकै शवलाई नेपाल पठाइने छ ।

मृतक रेग्मी बाबा आमाका एक मात्र छोरो हुन् । उनको एक दिदी र दुईजना बहिनी नेपालमै छन् । बाबा आमा पनि स्याङ्जामै रहेका छन् । लिस्बनमा आएको बेला उनले नेपाल जानका लागि नेपालीका ट्राभल्सहरुमा टिकट मूल्य पनि सोधेको बुझिएको छ ।

मृतक रेग्मीको करिब ७:०० बजेतिर मृत्‍यु भएको बताइएको छ । तर उनको शव राती ११:४५ बजे मात्र उठाइएको थियो । उनी म्याग्देली प्रवासी नेपाली संघ (मोना) पोर्तुगलले आयोजना गरेको पुरुष भलिबल प्रतियोगिता हेर्न लिस्बन आएका थिए । उनको स्वास्थ्यमा समस्या भएकाले केही समय पहिले तीन महिनासम्म शान्ता मारिया अस्पतालमा उपचार गराएका थिए ।

शव नेपाल पठाउनका लागि पोर्तुगलमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आर्थिक सहयोग गरिदिनुहुन स्याङ्जा समाज पोर्तुगलका अध्यक्ष बिमल गौतमले अनुरोध गरेका छन् । पोर्तुगलमा २०१० यता २३ नेपालीले ज्यान गुमाइसकेका छन् ।