११ बैशाख २०८१, मंगलवार
Follow Us

पौडेल फकाउँदै देउवा, भागबन्डाले पार्टी नचल्ने भन्दै सिटौलाद्वारा बैठक बहिस्कार

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार ०३:१८

काठमाडौं – पार्टीको कार्यसम्पादन समिति गठनको विषयमा सहमति जुट्न नसकेपछि केन्द्रीय समिति बैठक नै स्थगित गरेका कांग्रेस सभापति शेरबहादुर देउवा पछिल्लो समय वरिष्ठ नेता रामचन्द्र पौडेललाई फकाउन लागिपरेका छन् ।

प्राविधिक पक्षलाई नमिलाई सभापतिले कार्यसम्पादन समिति गठन गर्न लागेको भन्दै वरिष्ठ नेता पौडेलले असन्तुष्टि जनाएपछि सभापति देउवा वरिष्ठ नेता पौडेललाई फकाउन जुटेका हुन् ।
संस्थापन पक्षले भने मापदण्डभन्दा पनि भागमा चित्त नबुझेपछि पौडेलले समिति गठनमा अड्को थापेको बताउँदै आएको छ । यता, पौडेल समूहले मापदण्ड पु¥याएर समिति गठन गरिनुपर्ने माग राखिरहेका बेला सभापति देउवाले वरिष्ठ नेता पौडेललाई मनाउन भन्दै सोमबार बिहानै बूढानीलकण्ठस्थित आफ्नो निवासमा बैठक राखेका थिए ।

बैठकमा सभापति देउवाले पूर्वमहामन्त्रीसमेत रहेका नेता कृष्णप्रसाद सिटौलालाई समेत बोलाएका थिए । तर, सिटौला भने बैठकमा सहभागी भएनन् । उनी भागबन्डाले पार्टी नचल्ने भन्दै बैठकमा सहभागी नभएको उनीनिकट स्रोतले बतायो । राजधानी दैनिकमा खबर छापिएको छ।