८ बैशाख २०८१, शनिबार
Follow Us

प्रधानमन्त्री दाहाल, मोदी र चिनियाँ राष्ट्रपति सीबीच त्रिपक्षीय भेटबार्ता

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७३, आईतवार ०९:२४

गोवा–प्रधानमन्त्री पुष्पकमल दाहाल, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच त्रीपक्षीय भेट बार्ता भएको छ । ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट बार्ता भएको हो। प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच २० मिनेट ‘वान टु वान’ बार्तापछि प्रधानमन्त्री दाहाल, भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सीबीच भेटबार्ता भएको हो।

दाहालले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए
भेट बार्तामा प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रिदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे बैठकलाई जानकारी गराएका थिए। ‘नेपाल, भारत र चीनबीच रणनीतिक साझेदारी आवश्यक रहेको विषयमा मैले स्मरण गराएँ’, प्रधानमन्त्री दाहालले भने, ‘हामी बिशाल छिमेकी भारत र चीनको बीचमा छौं । हामी दुई देशबीच डाइनामिक ब्रिज बनेर लाभ उठाउन चाहन्छौं। मैले भेटमा रणनीतिक साझेदारीबारे विषय महत्व दिएर कुरा राखें। भारतका प्रधानमन्त्री र चिनियाँ राष्ट्रपतिले रणनीतिक साझेदारीबारे नेपालले राखेको प्रस्ताव महत्वपूर्ण छ, हामी यसमा सहमत छौं भन्नुभयो।’

भेटमा दाहालले बुद्ध, पशुपति र जानकीले नेपाल, भारत र चीनलाई जोडेको स्मरण गराउँदै आधुनिक इतिहासमा नेपालले भारत र चीनबीच सुमधुर सम्बन्ध बनाउन पुलको काम गर्नसक्ने बताए। प्रधानमन्त्रीले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसँग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताए।

भेटका अवसरमा चिनियाँ राष्ट्रपति पिङले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताए। राष्ट्रपति सीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको मुद्दा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको बताए। राष्ट्रपति सीले चीन र भारतबीचको सम्बन्ध समदूरीमा राख्न नेपालले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा तीन देशको सम्बन्ध थप मजभूत हुने विश्वास व्यक्त गरे।

भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सी जिनपिङको गाउँका दार्शनिक हान सुयान आफ्नो गाउँ गुजरात आएर चीनको ऐतिहासिक विशेषताको प्रचार गरेको तथा चीन फर्केपछि गुजरातको संस्कृति र रहनसहनबारे चीनमा प्रचार गरेको स्मरण गराउँदै नेपाल, भारत र चीनबीच भौगोलिक, भावनात्मक र सांस्कृतिक मित्रता रहेको बताउनुभयो । सो अवसरमा मोदीले नेपालले प्रस्ताव गरेको त्रिदेशीय साझेदारीको प्रस्तावमा भारत पनि सकारात्मक रहेको जानकारी दिएका थिए।