७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमा पब्जी प्रतिबन्धको तयारी, आखिर किन ?

sarusaru
२६ चैत्र २०७५, मंगलवार १०:४५

अहिले चर्चित मोबाइलमा हुने गेम पबजीका कारण बालबालिकाहरु पारिवार र समाजबाट टाढा मात्रै भइरहेका छैनन्, उनीहरु एकाग्र, हिंस्रक र उदण्डसमेत बनिरहेको पाइएको छ ।
तपाइँले कहिल्यै आफ्नै घर वा छिमेकमा बच्चा वा ठूला मान्छेहरु पनि ‘हान हान, मार मार’ ऊ त्यहाँ लुकेको छ भन्दै कराएको सुन्नुभएको होला । बाहिर सुन्दा के के नै भयो जस्तो पनि लाग्न सक्छ । तर यो अरु केही नभएर पबजी नै हो ।
अहिले कम्प्युटर वा मोबाइलमा एउटा खेल निकै लोकप्रिय बनिरहेको छ । प्लेयर्स अननोन्स ब्याटलग्राउण्ड अर्थात् पबजी ।
यो गेममा खेलाडीहरु एउटा टापुमा हुन्छन् । एउटा टिममा अधिकतम ४ जना ‘लडाकु’ हुन्छन् र टापुमा रहेका बाँकी ९६ जना लडाकुहरुलाई मार्नुपर्ने हुन्छ । टापुमा रहेका सबै ‘शत्रु’लाई मार्न सकेमा त्यो खेलाडी विजयी हुन्छ ।
यो खेलमा बन्दुकबाट गोली हान्ने, बम हान्ने र आगोको लप्का फाल्ने काम गर्नुपर्छ । अनि सबैलाई मारेर आफू विजयी बन्नुपर्छ ।
हो, यही गेम हो पबजी । जसले यतिबेला विश्वमै तहल्का मिचेको छ र धेरैको कम्प्युटर वा मोबाइलमा यही गेम डाउनलोड भएको छ । अनलाइनमा मात्रै खेल्न मिल्ने यो गेमको ‘एडिक्सन’ यति बढेको छ कि कतिपय बालबालिका तथा युवाहरु मध्यरातमा पनि हान हान र ठोक ठोक भनिरहेका हुन्छन् ।
यो गेमको लतले नकारात्मकता बढाएको भन्दै बन्द गर्नुपर्ने आवाज उठेको मात्रै छैन महानगरीय अपराध महशाखामा उजुरी समेत परकेो छ । यसलाई बन्द गर्नेबारे प्रहरी अहिले कानुनी बाटो खोजिरहेको बताइएको छ ।
बालबालिकालाई पबजी वा पबजीजस्ता खेलको लत बस्न नदिन परिवारको भूमिका महत्वपूर्ण हुन्छ । बालबालिकाले मोबाइल वा कम्प्युटरमा के खेल खेल्दैछन्, के गर्दैछन् भनेर अभिभावक सचेत हुनुपर्छ । यदि बालबालिका यसको लतमा लागिसकेका छन् भने बिस्तारै उनीहरुलाई त्यस खेलबाट बाहिर ल्याउनपर्दछ । उनीहरुलाई नखेल मात्रै भनियो र कुनै कुरा खेल्नै दिइएन भने उनीहरु झनै हिंस्रक बन्न सक्छन् । त्यसकारण उनीहरुलाई अर्को विकल्प दिएर बिस्तारै यो लत हटाउन सकिन्छ ।
त्यसकारण अभिभावकले अहिले नै आफ्ना बालबालिका के गरिरहेका छन् वा के गरिरहेका छन् भनेर निगरानी बढाउनुपर्छ । मोबाइलमा यस्ता हिंस्रक खेलको लत बसिसकेको हो भने बिस्तारै यसबाट छुट्कारा दिलाउनुपर्छ