१६ चैत्र २०८०, शुक्रबार
Follow Us

जेठ १७ देखि तातोपानी नाका सञ्चालनमा आउने

नेपालब्रिटेन डट कम्
२६ चैत्र २०७५, मंगलवार १८:०४

सिन्धुपाल्चोक– गोर्खा भूकम्पपछि बन्द भएको सिन्धुपाल्चोकको तातोपानी नाकाको सरकारी उच्चस्तरीय टोलीले आज स्थलगत निरीक्षण गरेको छ । उक्त नाका र अरनिको राजमार्ग पुनःसञ्चालनमा ल्याउन निर्माण कार्य धमाधम भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्रीहरु, प्रधानमन्त्रीका सल्लाहकार, पुनःनिर्माण प्राधिकरणका प्रमुख, सांसद लगायतको टोलीले उक्त क्षेत्रमा पुगेर नाका सञ्चालनका हालसम्म भईरहेको प्रगतिकाबारेमा जानकारी लिएका हुन् ।
एक साताअघि भूकम्प प्रभावित १४ जिल्लाका सांसदले प्रधानमन्त्रीसँग भेट्दा तातोपानी नाका सञ्चालनका विषयमा कुरा भएको र सोहीअनुसार निरीक्षण गरिएको सांसद अग्नि सापकोटाले जानकारी दिए ।

नाकाको स्थलगत निरीक्षणका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सांसद सापकोटा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, पुनःनिर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवाली र घनश्याम भट्टराई उक्त क्षेत्रमा पुगेका थिए ।

भूकम्पपछि बन्द रहेको तातोपानी नाका सञ्चालन गर्न चिनियाँ पक्षले सीमा क्षेत्रदेखि बसेरीसम्म र बाह्रबीसेदेखि बसेरीसम्म डिभिजन सडक कार्यालय चरिकोटले सडक निर्माण गरिरहेको सडक कार्यालय दोलखाका प्रमुख धर्मेन्द्र झाले बताउनुभयो । टोलीले निर्माणाधीन सुक्खा बन्दरगाह, मितेरी पुल र एक दर्जनभन्दा बढी स्थानमा बिग्रेभत्केको सडकक्षेत्रको निरीक्षण गरेको थियो ।

सुक्खा बन्दरगाह निर्माण कार्य अन्तिम चरणमा पुगेको चिनियाँ पक्षले जानकारी गराएको थियो । चिनियाँ पक्षले मे ३१ (जेठ १७ गते) नाका सञ्चालनको तयारी गरेको सांसद सापकोटाले जानकारी दिए ।