१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेपाल र श्रीलङ्का बीच सिधा हवाई सेवा सञ्चालन वारे सहमति

नेपालब्रिटेन डट कम्
३० आश्विन २०७३, आईतवार ०९:४०

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरसेनाबीच भेटबार्ता भएको छ ।

आईतबार बिहान गोवाको लिला होटलमा भएको भेट बार्तामा दुई देशबीच सिधा हवाई सेवा सञ्चालन र स्थगित सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नेबारे छलफल भएको थियो ।

भेटमा नेपालका प्रधानमन्त्री ‘प्रचण्ड’ले भौगोलिक दृष्टिले नेपाल र श्रीलंका केही टाढा रहेपनि दुवै देशले दक्षिण एसियाको विकास र सम्बन्धमा मिलेर भूमिका खेल्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले नेपाल र श्रीलंकाबीच सिधा हवाई सेवा सञ्चालनमार्फत् दुई देशबीचको सम्बन्धलाई थप मजभूत बनाउनुपर्ने विचार राखे ।

भेटमा प्रधानमन्त्रीले सार्क शिखर सम्मेलन शिघ्र आयोजना गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि सार्क राष्ट्रहरुबीच साझा धारणा आवश्यकता रहेको बताए । भेटमा प्रधानमन्त्रीले लागुऔषधको अभियोगमा श्रीलंकाले ललितपुरका चेतबहादुर थापालाई दिएको मृत्युदण्डको फैसलाबारे पूनर्विचार गर्न सिरसेनासँग अनुरोध गरेका छन् ।