११ बैशाख २०८१, मंगलवार
Follow Us

सगरमाथाको उचाइ नाप्न हिँड्यो टोली, प्रधानमन्त्रीले गरे बिदाइ

sarusaru
२७ चैत्र २०७५, बुधबार ०५:४९

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जान लागेको कर्मचारीको टोलीलाई आज विदाइ गरेका छन् ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली आज त्यस तर्फ प्रस्थान गर्दैछ । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम,नापी अधिकृत रबिन कार्की,सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आयोजित शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताए ।
“नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुँदैछ । तपाईंहरुले सेन्टीमिटर सहितको उचाइ नापेर ल्याउनु होला” प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिएका छन् ।
तर मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न प्रधानमन्त्रीले सुझाए । “लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ,” प्रधानमन्त्री ओलीले भने, “गाइडको निर्देशन पालना गर्नुहोला ।”
सरकारको तर्फबाट सगरमाथाको उचाइ मापन कार्य ऐतिहासिक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । विदाइ कार्यक्रममा मन्त्री पद्यमा आर्याल पनि सहभागि थिइन् ।
सोही कार्यक्रममा मन्त्रालयका तर्फबाट प्रादेशिक विभाजन अनुसारको नेपालको प्रशासनिक नक्सा पनि प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरिएको छ ।