काठमाडौं – सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गा व्यक्तिका नाममा बनाएर धितो राखी विभिन्न बैंक/वित्तीय संस्थाबाट अर्बौं रुपैयाँ ऋण लिएको पाइएको छ।

ललितानिवासका तत्कालीन भोगाधिकारी रुक्मशमेर राणालगायतबाट २०६० सालमा विभिन्न व्यक्ति तथा संस्थालाई गैरकानुनी रुपमा बेचिएको सो जग्गा धितो स्वीकारेर करिब एक दर्जन बैंक/बित्तीय संस्थाले कर्जा प्रवाह गरेको तथ्य खुलेको हो। सरकारले उक्त जग्गा फिर्ता लिए बैंकहरूले प्रवाह गरेको कर्जा रकम के हुन्ने भन्ने अन्योल देखिएको छ।
ललितानिवासको जग्गा हिनामिनासम्बन्धी अनुसन्धान गरिरहेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतका अनुसार नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड, सेन्चुरी बैंक, सानीमा बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बैंक लिमिटेड, प्रभु बैंक, साबिकको काष्ठमण्डप डेभलपमेन्ट बैंकलगायतमा उक्त सरकारी जग्गा धितो राखेर विभिन्न व्यक्ति र संस्थाले ऋण लिएका छन्। नागरिक दैनिकमा खबर छापिएकाे छ ।