८ बैशाख २०८१, शनिबार
Follow Us

यी हुन् एकै परिवारका ५ जना अधिकृत

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७५, बिहीबार ०२:५०

काठमाडौं । सरकारी सेवामा नाम निकाल्ने र मुलुकको प्रशासक बन्ने रहर कसलाई पो हुँदैन र ? मुलुकको कुशल प्रशासक बन्ने रहर धेरैले पालेका हुन्छन् । तर, सफलता पाउने अवसर कमैलाई हुन्छ र कमैले अवसर पाउँछन्, यस्तै अवसर अर्घखाँचीका पोख्रेल परिवारलाई मिलेको छ । जुन परिवारका पाँच जना दाजुभाइ तथा दिदीबहिनी नै अधिकृत हुन सफल भएका छन् ।
साबिकको जुकेना–९ अन्तर्गत पर्ने हालको सितगंगा नगरपालिका–६ चिसापानीको मध्यमवर्गीय पोख्रेल परिवारका पाँच जना छोराछारीले नै शाखा अधिकृतका रूपमा देशको प्रशासन हाक्ने अवसर प्राप्त गरेका हुन् । यसरी, अवसर प्राप्त गर्नेमा एकै परिवारका प्रेमराज पोख्रेल, सीता पोख्रेल, सरोज, अञ्जना पोख्रेल र रञ्जिता छन् ।

‘आमा जानकी सामान्य गृहिणी, बाबु टुकलाल गाउँको प्रतिष्ठित पण्डित, गाउँघरमा सरकारी सेवामा नाम निकालेर जागिर खाने कोही थिएनन्,’ घरको जेठो सन्तान प्रेम सम्झन्छन् । अंग्रेजी र जनप्रशासनमा स्नातकोत्तर गरेका प्रेम स्थानीय विद्यालयमा माध्यमिक तहको दरबन्दीमा रहेर अध्यापन गराउँथे । झन्डै १० वर्ष अध्यापन पेसामा बिताएपछि यो पेसाबाट बिस्तारै मन फेरिँदै गयो । त्यस्तैमा उनले लोकसेवा आयोगबाट लिइने परीक्षाको तयारी गर्न थाले र २०६९ मा लोकसेवा आयोगले लिइने शाखा अधिकृतको परीक्षामा सहभागी भए । पहिलोपटकमै सफलता हात लाग्यो । उनीपछिका चार भाइबहिनीले पनि उनकै बाटो समाते र धमाधम शाखा अधिकृतमा नाम निकाले । लोकसेवाको जाँचमा एक बहिनीबाहेक कसैले पनि दोस्रोपटक परीक्षा दिनु परेन । नाम निस्किएपछि प्रेमको पहिलो पदस्थापना आन्तरिक राजस्व विभाग भैरहवामा भयो । हाल उनी राजस्व अनुसन्धान विभाग ललितपुरमा कार्यरत छन् । राजधानी दैनिकमा खबर छापिएको छ ।