८ बैशाख २०८१, शनिबार
Follow Us

समायोजनले कर्मचारीविहीन भेरी अस्पताल

sarusaru
२८ चैत्र २०७५, बिहीबार ०६:१५

बाँके : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि स्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ ।

स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन् । भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् जसअन्तर्गत २७ स्टाफ नर्समध्ये दुई नर्सिङ अधिकृतसहित आठ सङ्घमा परेका छन् । अरू १९ प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिनुभयो ।

बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताउनुभयो । अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले शय्या थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याव कर्मचारीविहीनझै हुनपुगेको उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा रहेको ४३ नर्सको दरबन्दीमा अहिले करीब २६ नियमित सेवामै थिए । “केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा हुनुहुन्छ । भएका नर्समध्ये मन्त्रालयले अहिले १६ बढीलाई प्रदेशमा पठाएको छ”, उहाँले भन्नुभयो, “अब हामीसँग आठ मात्रै नर्स सङ्घमा रहनुभएको छ । गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भइरहेको छ ।”

सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा छ सम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ सम्म बिरामी हेर्नुपर्ने अवस्था छ । ल्यावमा रहेका सबै छ कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याव पनि खाली भएको उहाँले बताउनुभयो । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो ।
रासस