१३ बैशाख २०८१, बिहीबार
Follow Us

विदेशी जहाजलाई उडान अनुमति प्रकरणः स्पष्टीकरण दिँदै महानिर्देशकले भने–बेकारमा फसियो

नेपालब्रिटेन डट कम्
२८ चैत्र २०७५, बिहीबार १६:४८

काठमाडौँ– त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई आज स्पष्टीकरण बुझाएका छन् ।

अन्तरराष्ट्रिय नियम उल्लङ्घन गरी विदेशी जहाजलाई उडान अनुमति दिएका सम्बन्धमा पर्यटन मन्त्रालयले बुधबार महाप्रबन्धक क्षेत्रीलाई २४ घण्टे स्पष्टीकरण मागेको थियो । पत्रको जवाफमा महाप्रबन्धक क्षेत्रीले विमानस्थलको धावनमार्गको काम शुरु नभएका कारण इञ्जिनीयरसँग समन्वय गरेर जहाजलाई उडान अनुमति दिएको जिकिर गरेका छन् ।

“लिखित स्पष्टीकरण सोधिएकामा मैले आज जवाफ पठाएको छु । अघिल्लो नेपाल वायुसेवाको निगमको जहाजका यात्रु अलपत्र परेको जस्तै घटना नदोहोरियोस् भनेर यात्रुको मानवीय संवेदनालाई ख्याल गरिकन उड्न अनुमति दिएको हुँ । टावर र सम्बन्धित एयरलाइन्सलाई सोध्दा उड्न पाँच मिनेट समय लाग्छ भनेको थियो तर जहाजले ट्याक्सी वेमा केहीबेर (१० मिनेट) ढिलो गरेकाले समस्या आएको हो, पवित्र उद्देश्यले काम गर्दा उल्टै फसियो,” महाप्रबन्धक क्षेत्रीले भने ।

विमानस्थलले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र फ्लाई दुबईको जहाजलाई भिन्नभिन्न व्यवहार गरेको भन्दै मन्त्रालयले महाप्रबन्धक क्षेत्रीलाई स्पष्टीकरण सोधेको हो ।

विमानस्थलले मङ्गलबार राति दुबईको जहाजलाई विमानस्थल बन्द भइसकेको १७ मिनेटपछि उडान अनुमति दिएको थियो । विमानस्थलको धावनमार्ग मर्मतका लागि यही चैत १८ देखि राति १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरिएको थियो ।

विमानस्थलसम्बन्धी अन्तरराष्ट्रिय नियम (नोटाम) लागू भइसकेका अवस्थामा उडान अवतरण गराउन पाइँदैन । सोही नियमानुसार विमानस्थलले एक साताअघि निगमको दुबई उडानको जहाज रोकेको थियो । उक्त उडान चार मिनेट ढिलो भएको भन्दै जहाजका २७४ यात्रु अलपत्र परेको समाचार सार्वजनिक भएको थियो ।