१३ बैशाख २०८१, बिहीबार
Follow Us

प्रहरीमा ४ एआईजीको दरबन्दी थप

sarusaru
२९ चैत्र २०७५, शुक्रबार ०३:१८

काठमाडौं। सरकारले नेपाल प्रहरीमा ४ अतिरिक्त महानिरीक्षक ९एआईजी०को दरबन्दी थपेको छ। सोमबार बसेको मन्त्रीपरिषद बैठकले निर्वाचन आयोगको स्वीकृतिमा एआईजीको दरबन्दी थपेको हो। दरबन्दी थपसँगै प्रहरीमा अब एआईजीको संख्या १६ पुगेको छ। २०५० सालअघि प्रहरीमा एआईजीको संख्या २ मात्रै थियो।

तर त्यसपछि भने रजनीतिक भागवण्डा र दलीय आस्थाका आधारमा निकट व्यक्तिलाई बढुवा गर्नकै लागि एआईजीसहित उपल्लो तहको दरवन्दी बढाउँदै लैजाने गलत संस्कारको विकास हुँदै आएको छ। सोमबारको दरवन्दी थप निर्णय पनि त्यसकै निरन्तरता भएको सुरक्षा मामिलाका जानकारहरु बताउँछन्।

योसँगै प्रहरी अस्पताल, प्रहरी प्रशिक्षण प्रतिष्ठान, महानगरीय प्रहरी कार्यालय, विभाग र ७ प्रदेश प्रहरी प्रमुखसहित एआइजीले नेतृत्व गर्ने कार्यालयको संख्या १६ पुगेको छ।

दरवन्दी थपिएसँगै सरकारले २०४४ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, पंकज श्रेष्ठ र माधवकुमार नेपाललाई एआइजी बढुवामा सिफारिस गरेको छ। सिफारिसमा परेका चारैजना अधिकारी प्रहरी महानिरीक्षक प्रकाश अर्यालसँगै प्रहरीमा सेवा प्रवेश गरेका हुन्। गृह मन्त्रालयका अनुसार लोकसेवा आयोग र निर्वाचन आयोगको सहमतिमा एआइजीको दरवन्दी थप र बढुवा सिफरिस गरिएको हो।

बढुवाका दावेदार डीआइजीद्वय गोविन्द निरौला र रोमेन्द्रसिंह देउजा भने बढुवामा परेनन्। उनीहरु समेत आइजीपी अर्यालकै ब्याजी हुन्। यसअघि महानगरीय प्रहरी कार्यालय र प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा विभाग स्तरका कार्यालय गरी ७ स्थानमा मात्रै एआइजीको दरवन्दी कायम गरिएको थियो। तर मुलुक ७ प्रदेशको संघीय अवधारणामा गएपछि हरेक प्रदेशमा विशिष्ठ श्रेणीका प्रहरीलाई पठाउने निर्णयपछि संख्या थपिएको थियो।
कारोबार दैनिक