१४ बैशाख २०८१, शुक्रबार
Follow Us

ओली–दाहालको चन्द्रागिरि बास : वैशाख ९ सम्म एकता टुंग्याउने समझदारी

नेपालब्रिटेन डट कम्
३० चैत्र २०७५, शनिबार ०३:०८

काठमाडौँ — नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् ।

जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वयले चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख ९ गते) एकताको सन्देश दिने गरी काम सक्ने समझदारी गरेका हुन् । बिहीबार चन्द्रागिरि पुगेका ओली–दाहाल शुक्रबार दिउँसो काठमाडौं झरेका छन् ।

‘एकताको बाँकी प्रस्ताव तयार गर्न अध्यक्षद्वयलाई जिम्मा दिइएको थियो, त्यसैका लागि उहाँहरूले गृहकार्य गर्नुभएको हो,’ चन्द्रागिरि बासमा सहभागी महासचिव विष्णु पौडेलले भने, ‘अब केही दिनमै सचिवालय बैठक बस्छ र चाँडै एकताको काम पूरा हुन्छ ।’ पौडेलले अध्यक्षद्वयबीचको विषयगत सहमति खुलाउन चाहेनन् । छलफलमा एकता टुंग्याउन यसअघि बनाइएको सात सदस्यीय कार्यदलका संयोजक एवं गृहमन्त्री रामबहादुर थापासमेत सहभागी थिए । कान्तिपुर दैनिकमा खबर छ ।