११ बैशाख २०८१, मंगलवार
Follow Us

ओमकुमारी शान्ति कोषमा त्रिचालीस लाख सङ्कलन

नेपालब्रिटेन डट कम्
१ कार्तिक २०७३, सोमबार ०७:४८

विपन्नको उपचारका लागि सघाउने उद्देश्यले म्याग्दीमा स्थापित परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा रु ४३ लाख सङ्कलन भएको छ ।

बोनम्यारो रोगका कारण उपचारका क्रममा दिवङ्गत भएकी बेनपा–१३ की ओमकुमारी पुन (शान्ति)को सम्झनामा स्थापित कोषमा हालै छ जना प्रवासी र एक संस्थाले रु १७ लाख सहयोग गरेका छन् ।

म्याग्दी प्रवासी नेपाली सङ्घ मोना(कतार)ले रु पाँच लाख, मोनाका अध्यक्ष योगेन्द्र क्षेत्री, वरिष्ठ उपाध्यक्ष विनोद कुँवर, महासचिव घन शाही, कोषाध्यक्ष चक्र थापा, कोरियामा रहेका विमका ओमनारायण जुक्जाली र अस्टे«लियामा रहेका कुहुँका हरि राम्जालीले रु दुईदुई लाख कोषलाई उपलब्ध गराउनुभएको छ ।

पुनको उपचारमा सघाउने उद्देश्यले सङ्कलन गरिएको तर निधन भएपछि खर्च हुन बाँकी रु १३ लाखसहित कोषमा यसअघि रु २६ लाख सङ्कलन भएको थियो । कोषको ब्याजबाट आर्थिक अभावका कारण उपचार पाउन नसकेका म्याग्देलीलाई सहयोग गरिने अध्यक्ष राजेश शाक्यले बताउनुभयो ।

उहाँका अनुसार आर्थिक अभावकै कारण कुनै पनि म्याग्देलीले उपचार नपाएर ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले स्थापित कोषमा रु एक करोड ५० लाख सङ्कलन गर्ने लक्ष्य राखिएको छ । कोषले हालसम्म १८ जना जटिल रोगका बिरामीको उपचारका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

मुटु, मिर्गाैला, हेपाइटाइटिस बि, मालिग्रन्ट क्यान्सरलगायत जटिल रोग भएका थप पाँच जनाका लागि सहयोग जुटाउन अभियान सञ्चालन गरिरहेको कोषका सचिव लोकेश पुनले जानकारी दिनुभयो ।

“आर्थिक अवस्था कमजोर भएको र चिकित्सकको सिफारिसको प्रमाणको आधारमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत सहयोगका लागि अपिल गर्छांै” सचिव पुनले भन्नुभयो “कोषको समन्वयमा सङ्कलित रकम सम्बन्धित व्यक्तिलाई उपलब्ध गराई सहयोग विवरण सार्वजनिक गर्दै आएका छौँ ।”

कोषले म्याग्दीका साथै पर्वत, काभ्रे, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र गोरखाका बाढी पहिरो र भूकम्पपीडितलाई रु ३६ लाख ७३ हजार २१९ बराबरको नगद तथा राहत सामग्री जुटाएर सहयोग गरेको छ ।

भूकम्पले क्षति पुगेका तीन वटा सामुदायिक विद्यालय भवन पुनःनिर्माणका लागि सहयोग जुटाउन समन्वय गरेको कोषले थप १६ वटा शैक्षिक संस्थालाई आर्थिक सहयोग जुटाउन समन्वय गरेको जनाएको छ । रासस