१३ बैशाख २०८१, बिहीबार
Follow Us

यी हुन् अख्तियारमा परेकाहरु (सूची)

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७६, सोमबार ०३:०१

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०७५ मा आक्रामक रह्यो। तर वर्षको अन्त्यअन्त्यतिर भ्रष्टाचार नियन्त्रण गर्ने संवैधानिक जिम्मेवारी पाएको संस्थाका पदाधिकारी नै ‘घुसकाण्ड’मा मुछिए। यो घटनाले भने अख्तियारको छविलाई धमिल्याउन खोज्यो।
यी हुन् अख्तियारमा परेकाहरु

२०७५ साउन ४ गते : यातायात व्यवस्था कार्यालय एकान्तकुनामा लाइसेन्स वितरणमा भ्रष्टाचार गरेको आरोपमा मेकानिकल इन्जिनियरसहित १३ जनाविरुद्ध मुद्दा दायर

२०७५ साउन २१ गते : कटारी नगरपालिका उदयपुर र माई नगरपालिका इलाममा लेखा अधिकृत रविनचन्द्र ७ करोड अकुत सम्पत्ति आर्जनमा मुद्दा दायर। उनले ३ करोड ९८ लाख कटारी नगरपालिकामा भ्रष्टाचार गरेका थिए। ३ करोड २४ लाख माई नगरपालिका भ्रष्टाचार गरेका थिए।

२०७५ असोज १९ : बर्दियाको बबई नदीमा बनेको जब्दीघाट पुल उद्घाटन नहुँदै भत्किएपछि पप्पु कन्स्ट्रक्सनका मालिक एवं सांसद हरिनारायणप्रसाद शाह रौनियारसहित १२ जनाविरुद्ध मुद्दा दायर। उनीहरूविरुद्ध १९ करोड ३२ लाख बिगो माग दाबी।

२०७५ कात्तिक ९ : ताहाचलस्थित वैदेशिक रोजगार विभागका शाखा अधिकृत हरिप्रसाद देवकोटासहित २५ जनाविरुद्ध अवैध श्रम स्वीकृति दिएर भ्रष्टाचार गरेको आरोपमा मुद्दा

२०७५ कात्तिक ११ : मालपोत कार्यालय परासीका मालपोत अधिकृत मनोहरप्रसाद पन्थीसहित ७ जनाविरुद्ध सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा २ करोड ८६ लाख बिगोसहित मुद्दा दायर

२०७५ कात्तिक १५ : बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्ष दीगम्बर रायसमेत १० जनाविरुद्ध बदनियत र लापरवाहीपूर्वक बोलपत्र मूल्यांकन र स्वीकृत गरी भ्रष्टाचार गरेकोमा मुद्दा दायर

२०७५ मंसिर १० : कम्पनी रजिस्ट्रारको कार्यालयका उपरजिस्ट्रार गंगाधर पौडेलसहित ११ विरुद्ध गलत लिखत तयार गरी भ्रष्टाचार आरोपमा मुद्दा

२०७५ मंसिर २० गते : सिक्टा सिँचाइ आयोजनाको अनियमिततामा कालिका कन्स्ट्रक्सनका मालिक एवं पूर्वमन्त्री विक्रम पाण्डे र आयोजनाका ४ पूर्वप्रमुखसहित २१ विरुद्ध २ अर्ब १३ करोड रुपैयाँ बिगोसहित मुद्दा

२०७५ पुस ५ : नेपाल राष्‍ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाँको ५ करोड थान पोलिमर नोट छाप्दा भएको भ्रष्टाचारमा पूर्वगर्भनर तिलकबहादुर रावलसहित ३ जनाविरुद्ध मुद्दा। अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छापेको, नोट प्रिन्टिङ अस्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरेको मुद्दामा उल्लेख।

२०७५ पुस २३ गते : नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी प्रमुख गोपालबहादुर खड्काविरुद्ध १८ करोड रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा

२०७५ पुस २५ गते : यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक चन्द्रमान श्रेष्ठविरुद्ध २ करोड १० लाख अकुत सम्पत्ति आर्जनमा मुद्दा

२०७५ माघ २१ : समाज कल्याण परिषद्ले भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा प्रचलित मापदण्ड र प्रक्रियाविपरीत अनियिमतताको अभियोगमा पूर्वमन्त्रीद्वय बद्री न्यौपानेसहित १४ विरुद्ध मुद्दा। उनीहरूविरुद्ध ३१ करोड ५२ लाख रुपैयाँ बिगो माग।

२०७५ माघ १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका रेडियो अपरेटर (नासु) श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा मुद्दा। ३३ किलो अवैध सुन तस्करीको अभियोगमा अनुसन्धानका क्रममा ०७३ पुस २७ देखि उनी निलम्बनमा छन्।

२०७५ चैत १२ गते : अख्तियारका पूर्वआयुक्त राजनारायण पाठक र नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका अध्यक्ष लम्बोदर न्यौपानेविरुद्ध ७८ लाख घुसकाण्डमा मुद्दा

स्टिङ अपरेसन

२०७५ असार ३२ गते : जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाइ कपिलवस्तुका प्रमुख सुरेन्द्र पराजुली २ लाख ८० हजार घुससहित पक्राउ। कर्मचारीहरूको तलब निकासा ढिलो गरी घुस लिइसकेका उनलाई सरकारी निवासबाटै पक्राउ गरिएको थियो।

२०७५ साउन १३ गते : सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय भैरहवा रूपन्देहीका कार्यालय प्रमुख डीई सुरेश ठाकुर ३६ लाख घुससहित नियन्त्रणमा। समयमै निर्माणको बेला मूल्याकंन नगरी विभिन्न बहानामा पटक पटक रकम लिँदै आएका डीई ठाकुरलाई अख्तियार टोलीले घुससहित नियन्त्रणमा लिएको थियो।

२०७५ फागुन १ गते : बबरमहलस्थित काठमाडौं जिल्ला अदालतका नासु भोलानाथ चालिसेले सवारी ज्यान मुद्दा सहज गराइदिन ५ लाख घुस लिएका थिए। माघ १७ गते उनी घुससहित पक्राउ परे।

नासु चालिसेले काठमाडौं जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको सल्लाह र सहमतिमा लिएको बयान दिएका छन्। विचाराधीन सवारी ज्यान मुद्दाका प्रतिवादीलाई सजाय घटाइदिने भनी न्यायाधीश बानियाँले घुस मागेका थिए।

२०७५ असोज २४ : उच्च सरकारी वकिलको कार्यालय पोखराका सहन्यायधिवक्ता सुरेन्द्रबहादुर थापा ५ लाख घुस लिँदालिँदै पक्राउ।

२०७५ असोज २१ : महानगरीय प्रहरी वृत बौद्ध, काठमाडौंका प्रहरी नायव उपरीक्षक श्यामकुमार राई घुससहित पक्राउ। उनले सोनी कम्पनीको टेलिभिजन दिनु भनी जिन्सी सामान घुस मागेका थिए। उनलाई अख्तियारले १ लाख ४० हजार रकम घुससहित पक्राउ गरेको थियो।

२०७५ मंसिर ४ गते : जिल्ला सरकारी वकिलको कार्यालय रूपन्देहीका जिल्ला न्यायाधिवक्ता कोषहरि निरौला ८० हजार घुससहित पक्राउ।

२०७५ मंसिर १६ गते : प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य निर्देशक डा. तारानाथ पौडेल १ लाख घुससहित पक्राउ। उनले लोकसेवाको परीक्षाको अन्तवार्तामा उत्तीर्ण गराइदिने भन्दै रकम लिएका थिए।

२०७५ माघ १ गते : कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरका सहायक रजिस्ट्रार गीताकुमारी पन्थी १ लाख रकमसहित अख्तियारको नियन्त्रणमा

२०७५ फागुन ३ गते : जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठ लेनदेनसम्बन्धी उजुरी मिलाइदिने बहानामा २५ हजार घुससहित पक्राउ
अन्नपूर्ण पाेस्टबाट