लन्डन । नेपाली फिल्म इतिहासमै उच्च कमाइ गर्ने फिल्ममा रेकर्ड राखेको 
‘छक्का पञ्जा’ ले बेलायतका नेपाली दर्शकको समेत मन जितेको छ । लन्डनस्थित ग्रीनफोर्ड टाउन हलमा आइतबार गरिएको प्रदर्शन ‘हाउस फुल’ भयो । नेपलिज इन्टरटेन्मेन्ट यूकेले फिल्म प्रदर्शन गरेको हो । आयोजकमध्ये एक बीरेन खड्काले ग्रीनफोर्ड टाउन हलमा ५ सय भन्दा बढि दर्शकले 
‘छक्का पञ्जा’ हेरेको जानकारी दिए । सयौं दर्शक टिकट ‘सोल्ड आउट’ भएर त्यसै फर्किन वाध्य भए ।

दीपाश्री निरौला निर्देशित उक्त फिल्म आगामी २९ अक्टोबर एकैदिन 
फोक्सटन, आसफोर्ड र फेल्थाममा प्रदर्शन हुने खड्काले बताए । यसअघि अल्डरसट, उलवीच, स्टेन्स, स्यान्डस्र्टमा खचाखच दर्शकबीच फिल्म प्रदर्शन भइसकेको छ । ‘फिल्मको डिमान्ड अत्यधिक बढेको छ’, खड्काले भने, ‘सन्देशमुलक र हांस्यव्यङयले गर्दा पनि कुनै दर्शक फिल्म हेरेर निरास 
भएनन् ।’ नेपालीको वाहुल्यता रहेको अल्डरसट शहरमा फेरि प्रदर्शन 
गर्ने तयारी छ ।

नेपलिज इन्टरटेन्मेन्ट यूकेमा बीरेन खड्का, अनिल मल्ल, राजेन्द्र गुरुङ र दीपक खड्का छन् ।

नेपालमा पांचांै हप्ता पार गर्दा उक्त फिल्मले साढे १२ करोड रुपैयांको व्यापार गरेको समाचार प्रकाशमा आएको छ ।

दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतको मुख्य भूमिका रहेको ‘छक्का पञ्जा’ ले फिल्म हेरुन्जेल दर्शक हंसाउछ । यसअघि ‘छक्का पञ्जा’ फिल्म युनिटले बनाएका ‘छ एकान छ’ र ‘वडा नम्बर छ’ ले पनि व्यवसायिक सफलता चुमेका थिए ।