८ बैशाख २०८१, शनिबार
Follow Us

एक वर्षदेखि तलब र भिसाविहीन हुँदा आत्महत्या

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०२:५२

काठमाडौँ — पार्क, स्विमिङ पुल, मनोरञ्जन स्थल आदि निर्माण गर्ने कतारस्थित बहुराष्ट्र्रिय कम्पनी अक्वा मास्टर्समा कार्यरत ४६ नेपाली कामदार झन्डै एक वर्षदेखि तलब र भिसाविहीन भएका छन् ।
लामो समयसम्म आर्थिक र मानसिक तनाव बेहोर्नुपर्दा यो कम्पनीमा आठ वर्षदेखि कार्यरत काठमाडौं, अत्तरखेलका एक कामदारले आत्महत्या गरेका छन् भने अरू कामदार पनि ‘भगौडा’ हैसियतमा कतारका विभिन्न क्याम्पमा बसिरहेका छन् ।

यी कामदारका पक्षमा पहिलो चरणमा कतारको श्रम र लगत्तै उच्च अदालतले गत मंसिरमै फैसला सुनाए पनि कम्पनी मालिक बेपत्ता बनेपछि कामदारको बिजोग भएको हो ।

‘अदालती तहबाट कामदारले न्याय पाइसकेका छन् तर कम्पनी मालिक सम्पर्कमा आएका छैनन्,’ दोहास्थित श्रम काउन्सिलर शिवराम पोखरेलले भने, ‘सबै कामदारको तलब, भत्तासहित कम्पनीले तिर्नुपर्ने शुल्क धेरै देखिएको छ । यो अवधिमा कामदारहरू भिसा र कागजातविहीन भइसकेका छन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।