७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्रीको सम्बोधनमा मन्त्रीबाट ‘बहिष्कार’

नेपालब्रिटेन डट कम्
३ बैशाख २०७६, मंगलवार ०३:०२

काठमाडौं – नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरू नै उपस्थित भएनन्। प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चन्द्रप्रकाश खनाल र खानेपानीमन्त्री बिना मगर सम्बोधनमा उपस्थित नभएका हुन्।

काठमाडाैमै रहेर पनि गृहमन्त्री थापा, ऊर्जामन्त्री पुन उपस्थित भएनन् भने अन्य मन्त्रीहरू भने काठमाडौंबाहिर कार्यक्रम तय गरेर सम्बोधन कार्यक्रम छलेका थिए। बालुवाटार स्रोतका अनुसार सबै मन्त्रीलाई बिहानै उपस्थित हुन आग्रह गरिएको थियो। ‘काठमाडौं रहनुभएका सबै मन्त्रीलाई उपस्थितिका लागि आग्रह गरिएको हो,’ बालुवाटार स्रोतले भन्यो, ‘केही मन्त्री काठमाडौंबाहिर जानुभएको रहेछ तर काठमाडांैमा रहनुभएका मन्त्रीहरू किन सहभागी हुनुभएन, त्यो थाहा हुन सकेन।’ सम्बोधनका क्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भने पुगेका थिए। सम्बोधनको अन्तिम समयमा पुगेका दाहाल गृहमन्त्रीलाई नदेखेपछि अलमलमा परेका थिए। सम्बोधनमा अचानक आएका कारण पूर्वमाओवादी केन्द्रबाट मन्त्रिमण्डलमा सहभागी मन्त्रीहरूले कार्यक्रम बहिष्कार गरेको आशंका छ। नागरिक दैनिकमा खबर छ ।