१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कर्मचारी समायोजनको मार स्थानीय तहमा

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार ०३:११

काठमाडौं–नुवाकोटको किस्पाङ गाउँपालिकाको तीनवटा वडा हेर्ने जिम्मेवारी पाएका एक सचिवले कर्मचारी समायोजनको आवेदन दिँदा संघ नै रोजेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ती कर्मचारी समायोजनपछि अहिले गाउँपालिकामा कर्मचारी अभाव भएको छ ।

कर्मचारी समायोजनले स्थानीय तहमा अपुग कर्मचारी पदपूर्ति गर्नुपर्ने थियो । तर, भएका कर्मचारी पनि संघमै समायोजन भएपछि अहिले स्थानीय तहमा अपुग कर्मचारीको संख्या झनै बढेको छ । समायोजनमा कर्मचारीले दुर्गम स्थान छाडेका छन् । सुगम रोजेर उनीहरू अन्यन्त्र जाँदा दुर्गमका अधिकांश स्थानीय तहमा कर्मचारी अभाव भएका छन् । किस्पाङ गाउँपालिकाको यो सन्दर्भ यसको एउटा नमुना मात्र हो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार ६० हजार ६ सय ३२ निजामती कर्मचारीमध्ये ९ हजार ५ सय ३४ ले मात्र स्थानीय तह रोजेका छन् । २७ हजार ३ सय २ स्वास्थ्यका कर्मचारीमध्ये २२ हजार १ सय ७६ लाई स्थानीय तहमा समायोजन गरिएको छ । साविक स्थानीय तहका १२ हजार ९७ लाई समायोजन गरिएको छ । सामान्यका अनुसार ६६ हजार ९ सय ८ दरबन्दीमध्ये ४३ हजार ८ सय ७ को समायोजन स्थानीय तहमा भएको छ । कर्मचारी समायोजनमार्फत पनि सरकारले स्थानीय तहमा कर्मचारी पठाउन सकेन ।

भएका कर्मचारी पनि केन्द्र नै रोजेपछि गाउँपालिकामा काम गर्नै अप्ठ्यारो भएको किस्पाङ गाउँपालिकाका प्रमुख छत्रबहादुर लामाले बताए । नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।