८ बैशाख २०८१, शनिबार
Follow Us

विभिन्न अपराधमा संलग्न पाँच हजार बढी कानूनी दायरामा

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार १६:५५

काठमाडौँ–नेपाल प्रहरीले काठमाडौं जिल्लामा भएका विभिन्न अपराधमा संलग्न पाँच हजार बढी व्यक्तिलाई पक्राउ गरी कानूनी दायरामा ल्याएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसार चालू आर्थिक वर्षको नौ महीनामा चार हजार ७६१ मुद्दाका पाँच हजार ३५८ जनालाई पक्राउ गरी कानूनी दायरामा ल्याइएको हो ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीले परिसर र काठमाडौँका विभिन्न प्रहरीवृत्तमा आएको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकाविरुद्ध बैंकिङ कसुर, गठी, अभद्र व्यवहार, लागुऔषध, चोरी, जुवातास, भवितव्य ज्यान मुद्दा लागेको छ । सबैभन्दा बढी प्रहरी परिसरमा झण्डै एक हजार मुद्दामा ८३१ जनालाई पक्राउ गरी कारवाही अघि बढाइएको छ । प्रहरीवृत्त बानेश्वर, बालाजु, कमलपोखरी, लैन चौर, थानकोट, सिंहदरबार, बौद्ध, स्वयम्भू, गौशाला, कीर्तिपुर, महाराजगञ्ज, दरबारमार्ग र कालिमाटीमा परेको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी कारवाही थालिएको परिसरले जनाएको छ ।

पछिल्लो सममया बैंकिङ कसुर, साइबर अपराध, वैदेशिक रोजगार तथा हाउजिङसम्बन्धीका अपराध बढेको भन्दै परिसरका निमित्त प्रमुख अशोक सिंहले यसतर्फ प्रहरीले सादा पोशाकमा समेत प्रहरी परिचालन गरेर कारवाही अभियान चलाइएको बताउनुभयो । भारतीय नागरिकसमेत लुटपाट र ठगीमा सक्रिय हुने गरेको पाइएको छ । नक्कली वस्तुलाई सक्कली भनेर ठगी गर्ने गिरोहसमेत सक्रिय भएको परिसरका प्रवक्ता बोगटीले जानकारी दिए ।
यसतर्फ सचेत हुन र समयमै सूचना दिनसमेत प्रहरीले सबैमा अनुरोध गरेको छ ।