१४ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपाली कांग्रेसद्वारा कार्यक्रममा ‘ब्याच’ लगाउन प्रतिबन्ध, आसन ग्रहण छरितो बनाइने

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७६, बुधबार २०:५०

नेपाली कांग्रेसले पार्टीका कार्यक्रममा लगाईने ब्याचमाथि प्रतिबन्ध लगाएको छ । कांग्रेसले केन्द्रदेखि टोलसम्म पार्टीले आयोजना गर्ने कार्यक्रममा ब्याच लगाउन प्रतिबन्ध लगाएको हो । वैशाख ११ गतेदेखि हुने राष्ट्रिय जनजागरण अभियानबाट ब्याच प्रतिबन्ध लागाईने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी गराए ।

त्यति मात्रै होईन कांग्रेसले आसन ग्रहण र भाषणलाई पनि छरितो बनाएर केन्द्रबाटै कार्यक्रमको डिजाइन ७७ जिल्लामै सर्कुलर गरेको छ । आसनग्रहण र भाषणलाई छरितो बनाउने काम व्यवहारमा लागू हुने प्रवक्ता शर्माको भनाइ छ ।

कांग्रेसका कार्यक्रममा धेरै नेतालाई आसनग्रहण गराउने र बोल्न दिएर समय खर्च गरेकोमा पार्टीभित्रबाटै आलोचना हुने गरेको थियो।‘जिल्ला, नगर, गाउँ, टोल र वडा सबैलाई सहज होस् भनेर केन्द्रबाटै कार्यक्रमको फरम्याट बनाइएको छ,’ प्रवक्ता शर्माले भने, ‘असीमित संख्याको आसनग्रहणलाई राष्ट्रिय जनजागरण अभियानबाटै अन्त्य गर्छौं।’

अबका कार्याक्रममा जम्मा दुई जनालाई मात्रै आसन ग्रहण गराउने भएको छ। प्रवक्ता शर्माका अनुसार कार्यक्रमका सभापति र प्रमुख वक्ता ९प्रमुख अतिथि० र सामूहिक आसनग्रहण गराइनेछ।

कार्यक्रम उद्घाटन कसरी गर्ने भन्नेबारे पनि कांग्रेसले फरम्याट बनाएको छ। वरपिपल, समी वा यस्तै बिरुवामा पानी राखेर कार्यक्रम उद्घाटन गर्ने वा दीप प्रज्वलन गर्ने शर्माले बताए।‘उद्घाटन गर्दा प्रयोग गरिएको बिरुवालाई सुरक्षित ठाउँमा सार्ने जसले जनजागरण अभियानको स्मृति देशव्यापी गराइरहनेछ।’

कार्यक्रमका प्रक्रियाबारे पनि कांग्रेसले टुंगो लगाएको छ। जसअनुसार आसनग्रहण, शहीदको सम्झनामा मौनधारण, राष्ट्रियगान, कांग्रेसका स्व। संस्थापक नेताहरूलाई माल्यार्पण, कार्यक्रम उद्घाटन, मन्तव्य, पार्टी सदस्यता वितरण र समापन छ।

कार्यक्रममा चार जनाले बोल्नेछन्। उद्घाटन समारोहमा स्वागत, विषय प्रवेश, प्रमुख वक्ता र सभापतिले कार्यक्रमका लागि देशैभर एकै प्रकृतिको ब्यानर केन्द्रकै डिजाइनअनुसार राखिने शर्माले बताए।‘ब्याज वितरण कार्यक्रमलाई पार्टीले जनजागरण अभियानसँगै अन्त्य गर्छ,’ उनले भने।

संगठन सुदृढीकरण र भ्रष्टाचार अन्त्यका लागि २०७६ सालभरि केन्द्रदेखि गाउँसम्म कांग्रेसले कार्यक्रम गर्ने यसअघि नै घोषणा गरिसकेको छ। वैशाख ११ गतेदेखि पुस १६ गतेसम्म जनजागरण अभियान अन्तर्गत केन्द्रीय नेताहरू गाउँ बस्नेछन्।

कांग्रेसले आफ्ना भातृसंस्थाहरु नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल विद्यार्थी संघ, नेपाल ट्रेड युनियनलगायतको व्यापक परिचालन गर्ने पनि जनाएको छ ।