६ बैशाख २०८१, बिहीबार
Follow Us

नेपाल विश्वकपमा छनोट हुन सकेन

नेपालब्रिटेन डट कम्
५ बैशाख २०७६, बिहीबार ११:५१

मलेसियामा जारी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) यू–१९ एक दिवसीय विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको अन्तिम खेलमा नेपालले कुवेतलाई पराजित गरेको छ ।

आज भएको अन्तिम खेलमा नेपालले कुवेतलाई आठ विकेटले पराजित गरे पनि विश्वपकमा भने छनोट हुन सकेन । क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा कुवेतले दिएको १५८ रनको लक्ष्य नेपालले २८ ओभरमा मात्र दुई विकेट गुमाएर पुरा ग¥यो ।

नेपालको जीतमा रित गौतम र पवन सर्राफले अर्धशतकीय इनिङ्स खेले । पहिलो विकेटका लागि रित र पवनले ९३ रनको साझेदारी गरेका थिए । रित ६२ रनमा आउट हुँदा पवनले ५३ रन बनाए । यस्तै आसिफ शेखले अविजित ३३ रन बनाए ।

कुवेतका अब्दुल शादिक र हमुद अमनउल्लाहले एक÷एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कुवेतले १९ ओभर चार बलमा अलआउट हुँदै १५७ रन बनाएको थियो ।

कुवेतका लागि नोमन बुन्द्रोले ७० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै गोकुल कुमारले ३६ तथा हमुद अमनउल्लाहले १७ र मिट भाब्सरले १० रन बनाएका थिए । नेपालका कप्तान रोहित कुमार पौडेलले तीन विकेट लिए । यस्तै कुशल मल्ल, सूर्य तामाङ र राशिद खानले समान दुई÷दुई विकेट लिए ।

कुवेतलाई पराजित गरे पनि नेपाल विश्वकपमा छनोट हुन सकेन । नेपालले दोस्रो स्थानमा रहेर छनोट खेल सकाएको छ । नेपालले पाँच खेलमा चारमा जीत र एक हारसहित आठ अङ्क जोड्न सफल भयो । छनोटबाट संयुक्त अबर इमिरेट् (युएइ) पाँच खेलबाट पाँचमै जीत निकाल्दै विश्वकपमा छनोट भएको छ । छनोटमा नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनले पराजित गरेकामा दोस्रो खेलमा युएईसँग एक रनले पराजित भएको थियो । यस्तै नेपालले तेस्रो खेलमा मलेसियालाई आठ विकेट र चौथो खेलमा ओमानलाई १५० रनले हराएको थियो ।