१५ चैत्र २०८०, बिहीबार
Follow Us

अभिभावक गुमाउँदाको पीडादायक मनस्थिति

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १४:५०

—प्रकाश के.सी. पोखरा, नेपालबाट

…..बत्ती चाहिँ ननिभाउनू सुत्ने बेलामा…. भनेकोले ननिभाई सुते तापनि आँखा भने उस्तै सिलिङमा झुण्डिएको बिजुलीको चिमजसरी बलिरह्यो । भित्तामा जिवन्त लाग्ने, परिवारका थरिथरिका तस्वीरहरु फ्रेममा दुरुस्तै मिलाएर टाँगिएका थिए । बुबामुमाले जतनसाथ हाम्रो परिवारको तस्वीरहरु राख्नुभएको थियो । छोराबुहारीहरु, छोरीज््वाइँहरु अनि नातिनातिनीहरुका तस्वीहरुहरुको सिरानीमा आफ्ना अर्थात् बुबामुमाको ठूलो तस्वीर झुण्डिएको भित्तामा मेरा आँखाहरु टोल्हाइरहन्छन् । हामी सबै छौं, अहिले उहाँहरु दुबै हुनुहुन्न । मात्र, तीन महिनाको अन्तरालमा उहाँहरु एकपछि अर्को हुँदै हामीबाट टाढा जानुभयो । अनि छोड्नुभयो सम्झनाहरुका अनगिनत् प्रसङ्गहरु….

राधाकृष्णबाट बिजुली नाम राख्ने रहर लहडको थिएन उहाँको । हजुरबाबा र हजुरआमाले पक्कै पनि सोँचेर र बिचारेर राखेको नाम हुनुपथ्र्यो त्यो तर उहाँ त्यो नाम त्यागेर कानूनी रुपमा आफ्नो नाम बिजुली बहादुर राख्नु भयो, मुख्य कारण भनेको आमाको नाम तेज कुमारी हुनु थियो । उहाँहरुले आफ्नो संसारलाई एक किसिमले व्यवस्थित नाम दिन चाहानुहुन्थ्यो र त्यो संसारमा रोशनी, ज्योत्स्ना, प्रकाश, ज्योती, दीपक अनि किरणको प्रकाशमय उदय भयो । कालान्तरमा समय, परिवेश, परिस्थिति अनि सामाजिक संरचनामा आवद्ध हामीहरु तितरबितर भयौं । दिदीबहिनीहरु नेपालको अर्को कुनामा अनि म संसारकै पल्लो कुनामा बस्न पुगेँ । उहाँका संरचनामा केवल भाइ आफ्नो परिवारसहित उहाँको नै साथमा रहन पुग्यो ।

आखिर के रहेछ त जीवन ? के रहेछ त रहर अनि त्यसको वोध ? खासगरी गत तीन महिनादेखि यसबारेमा ज्यादा सोँच्दै छु । जति सोँच्छु, त्यति बिरक्त लाग्दछ, त्यति नै दिग्दारी जगाउँदछ । म हङकङ बस्ने ताका बुबाले भन्नुहुन्थ्यो…जे र जति जग्गा छ त्यसैमा एउटा स्वीट होम बनाऔं ।… म अन्तै र अर्कै जग्गा किन्ने शुरमा थिएँ । उहाँले आफ्नै सोँचमा आफ्नै रहर आखिरमा पूरा गर्नुभयो । सानो ठाउँमा नै तीनतले घर बनाउनु भयो । छतमा चारैतिर दर्जनौं गमलामा थरिथरिका फूलहरु उमारेर सानो फूलबारीसहितको संसार बनाउने रहर आमाको रहेको हुँदो हो, साथको एक कुनामा सानो मन्दिर अनि मन्दिरमा ठूलो आस्था बोकेको सानो मूर्तिको स्थापना गर्ने पनि आमाको नै रहर हुँदो हो । विहानीपख उत्तरतर्फको माछापुछ्रे हिमालतर्फ हेर्दै चिया पिउनुको मज्जालाई बुबाले कहिले नी शब्दमा उतार्नु भएन तर उहाँको अनुहारमा अनि बसाइमा अत्यन्तै शान्ति र शालिनता छाउँथ्यो भन्ने सजिलै मानिन्थ्यो । ..काठमाण्डौमा सरौं.. भन्ने हाम्रो आग्रहलाई उहाँले नकार्नु भएको थियो । विहानै दक्षिणतर्फ रानीबनको हरियालीलाई पारेर अनि उत्तरतर्फ माछापुछ्रेको हिउँको चम्किलोलाई राखेर मर्निंग वाक गर्नुमा अर्कै किसिमको मस्तीको तर्जुमा उहाँ अवकाशप्राप्त जीवनको लागि गरिसक्नु भएको थियो पहिल्यै ।

तीनमहिनाको अन्तरालमा दुबै जानु भयो अनन्तमा, कहिल्यै नफर्किने गरेर । म अक्सर भन्ने गर्दछु, मानिसहरु वृद्धावस्थामा एक यस्तो आस्थाको रचनामा लिप्त हुन्छन् जसमा नयाँ संसारको अनि नयाँ जीवनको बाटो देखाइन्छ । तर त्यसरी उहाँहरुको दिनचर्यामा भोलिको कल्पना हट्ने गरेर निष्कृयता रहेको थिएन, त्यसर्थ दुबैजना त्यसरी एकोहोरो हुनुभएन । एकपछि अर्को गर्दै जानु भयो । आमा बित्नुभएपछि धार्मिक प्रपञ्चका प्रयत्नहरु गरिए । घरमा तुरन्तै विपद नहोस् भनेर कार्यहरु गरिए, आमाको आत्मालाई मुक्ति गरियो, दिइयो । समाजबाट शान्तिको कामना गरियो । तर तीन महिनाभित्रै हाम्रो परिवार अशान्त रह्यो । त्यो आफ्नै ठाउँमा छ । त्यसको कुरा नगरौं । यता घरको छत उस्तै छ तर फूलहरु थरिथरि गरेर फुल्न छाडेको वर्षौं भएको छ । उहाँहरु दुबैले सिढीँ चढ्न छाडेको वर्षौं भएको थियो । त्यो छतबाट टलक्क र झलझली देखिने माछापुछ्रे हिमाल छेकिएको छ । पैसावाला छिमेकीले अग्लो घर बनाएर लगभग छेकिदिएको छ । उमेरहरुले वुढ्यौलीका सिंढीहरु चढ्दै गएपछि बुबामुमाका गोडाहरुले घरका सिंढीहरु चढ्न छाडेका थिए । समयको त्यो प्रहरमा उहाँहरुका रहरहरुले भने त्यो वाध्यतालाई कसरी आत्मसात गर्न सक्यो, त्यो थाहा पाउन सकिएन । सोध्न भ्याइएन अनि उहाँहरुले बताउनु पनि भएन, त्यसरी त्यो अर्थमा खुल्नु भएन । अहिले घर छ, घरमा सिंढीहरु छन्, उहाँहरुले जतनसाथ साँचेको उहाँहरुका रहरहरुका धरोहरहरु छन्, धेरैथरि जस्ताको त्यस्तै छन्, दुरुस्तै छन् । उहाँहरु दुबै तर हुनुहुन्न । उहाँहरुको उपस्थितिमा अटल र अजर लाग्ने अभिभावकत्वको आभाससम्म छैन । कोठाको कुनाबाट विहानै विहानै रेडियोबाट समाचारहरु सुनिँदैन । माथिको मन्दिरमा विहानै विहानै घण्टीहरु बज्दैनन् । उहाँहरु दुबैका आआफ्ना समय र उमेरसापेक्षित गनगनहरु सुनिँदैनन् । उहाँहरुलाई भेट्न र उहाँहरुसँग बोल्न आउने साथीहरुसँगका उहाँहरुको तुक अनि बेतुकका गफहरु र छोराछोरीसँगका गुनासाहरु सुनिँदैनन् । अखवारवालाले बाहिरै फालेर गएका पत्रिकाहरुमा तातोतातो समाचारहरु उपरका टिकाटिप्पणीहरु सुनिँदैनन् । ठेलगाडीमा सागसब्जी बेच्न ल्याउनेसँग गर्दै गरेको मोलमोलाइको कडीकडाइ सुनिँदैनन् । ती सबैबाहेक आखिरमा यो घर र परिवेशमा सबै छन् ।

आमाको पालोमा आएको पण्डित नै छन् योपालि पनि । त्यही किरिया पुत्री भवन, त्यही धारो, त्यही कुना जहाँ १३ दिनसम्म ढिकुर बनाएको ठाउँ, त्यही पिण्ड अस्त गर्ने तालको छेउ तर केचाहिँ बदलिएको छ भने, आमाको सम्झनामा किरियापुत्री भवनको बाहिर नामसहित राखिएको बेञ्च थपिएको छ । स्वर्गीय आमाको सम्झनामा बाँकी रहेको एक कुनामा स्थायी रुपमा राखिदिएका थियौं नामसहितको त्यो बेञ्च, आज त्यहाँ नै बसेर सोँचे..यो तीनमहिनापछि अरु के के बदलिएछ आमाबिनाको यो संसारमा । शिरको कपाल राम्ररी नपलाउँदै आजै फेरि पण्डित आफैले मुडुलो बनाइदिएका छन् । तीन महिनाअगाडिकै नापमा पण्डित आफैले मेरोलागि सेतो कोराको कपडा पहिराइदिएका छन् । मन एकतमासको भएको छ ।

सबै उस्तै छन्, दुरुस्तै छन् । छिमेकीहरु आउँथे, आएका छन् । मुमाका साथीहरु उस्तै छन्, घाम ताप्न अनि ओझेलमा बस्न आउँथे, आएका छन् । बुबाका साथीहरु लौरो टेकेर हिँड्थे, हिँडिरहेका छन् । घरभरि आफन्तहरु थिए, छन् तर यी सबैबीचमा मेरो बुबा हुनुहुन्न, मुमा हुनुहुन्न । परिवार पूरा छ बुबामुमाबाहेक । छरछिमेकीहरुका आँखामा ज्यादा सहानुभूतिको राप हुँदो हो, त्यसको रापको आभास मात्रैले पनि आँखालाई रसाइदिन थाल्छ । ..साह्रै माया गर्दथिईन् तिम्री आमा तिम्रा बाबालाई, आफैसँग लिएर गईन् । राम्रो भयो । उनीहरुले शान्ति पाए । तिमीहरुलाई माथिबाट हेर्दै आशीष दिन्छन् ।…मभने यता घर हेर्छु, भाइको परिवार हेर्छु, दिदीबहिनीहरुका परिवार हेर्छु । बाबाआमा बिनाको यो घरको अवस्था हेर्छु, बाबाआमा बिनाको माइतीघर कस्तो लाग्दो हो दिदीबहिनीहरुलाई भनेर सोध्न सक्दिन पक्कै नै । मभने नेपालभन्दा धेरै पर, संसारको अर्को कुना बेलायतमा हुनेछु ।

के रहेछ त जीवन ? हामीहरु जीवनभर दौडधुप गर्दछौं, अरुभन्दा राम्रो, अशल अनि सफल देखिनको लागि लागीपर्दछौं । अहिलेसम्म कत्तिका मानिसहरुको दिल दुखाइयो होला ? कत्तिलाई पछारियो होला अगाडि बढ्नको लागि ? उहाँहरुलाई म त्यो मामिलामा अछुतो हुनुहुन्थ्यो भनेर भन्दिन । कोही हुँदैनन् । म छैन । तर के रहेछ त जीवन वास्तवमा ? आफ्ना रहरहरुका चाङहरुलाई मेरा बुबामुमाहरुले कति सम्हालेर राखे होलान्, तीमध्ये कति पूरा भए होलान् ? तर आखिरमा खाली अनि रित्तो हात जानु भयो । ती सपना तथा रहरहरुलाई पूरा गर्ने ध्याउन्नामा खर्चेका उहाँहरुको प्रयासहरुका दागहरु घरका भित्ताभरि जताततै यथावत रहेका छन् । नातिनीले आफूलाई र अरुलाई सम्झनको लागि सजिलो रहोस् भनेर पानामा लेखेर छोडेकी बुबामुमाले नियतिम रुपमा समय समयमा खाने औषधिका नामसहित दर तथा समयहरुका फेहरिस्तहरुसहित बुबा र मुमाले नियमित रुपमा खाने औषधिहरु पनि त दुरुस्तै रहेछन् । उहाँहरु मात्र हुनुहुन्न ।

…बत्ती बालेरै सुत्नू । … अब सोँच्दैछु, आखिर किन होला ? आफ्नो परिवारको प्रशस्तै चिन्ता गर्ने उहाँहरु कतै टुप्लुक्क निस्कनुहुन्छ कि घरमा ? …प्रकाश, तँलाई कस्तो छ ?…भनेर अगाडि उभिएर सोध्नुहुन्छ कि ? डरलाग्दो नमान्नु पर्ने भए पनि डरलाग्दो परिकल्पना रे, त्यही भएर पण्डितले किरिया बस्ने कोठाको ढोकामा एक सरो धागो बाँधिदिएका छन् । भित्तामा टाँगिएका तस्वीरलाई हेरेको थिएँ, अहिले त्यही तस्वीरले नै एकोहोरो मलाई हेरिरहेको झैं लाग्दछ । म त्यसपछि अनुहार छोपेर सुत्ने तरखर गर्छु, बाहिर पर कतै कुकुरहरु एकोहोरो भुक्न थाल्दछन् ।