१४ बैशाख २०८१, शुक्रबार
Follow Us

चीन भ्रमणमा जाँदै राष्ट्रपति, यस्तो छ कार्यक्रम तालिका

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १६:०८

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी आफ्ना चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म चीनको राजकीय भ्रमण गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा उहाँ बेइजिङमा आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुनुहुनेछ । साथै राष्ट्रपति भण्डारीले उक्त फोरमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारी आफ्ना चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोजमा सहभागी हुनुहुनेछ । उहाँ अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुनुहुनेछ भने त्यहाँ रहेको नेपाली मण्डपको अवलोकन गर्ने कार्यक्रम छ ।

नेपाल र चीनका राष्ट्रपतिबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । उहाँले वरिष्ठ चिनियाँ अधिकारीहरुसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको उक्त मन्त्रालयले आज जारी गरेका प्रेस विज्ञप्तिमा उल्लेख छ । राजधानी बेइजिङमा रहँदा उहाँले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्तरुपमा सम्बोधन गर्नुहुनेछ । राष्ट्रपति भण्डारी बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।

बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपतिले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्नुहुनेछ भने स्वदेश फर्कदा चीनको स्वासाशित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्नुहुनेछ । उहाँले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग भेटवार्ता गर्नुहुनेछ ।

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मी रहनुहुनेछ ।

राष्ट्रपति भण्डारी यही वैशाख १९ गते बिहीबार स्वदेश फर्कने कार्यक्रम छ ।