१६ चैत्र २०८०, शुक्रबार
Follow Us

वसुन्धरा — मान प्रज्ञाप्रतिष्ठानले महजोडिलाई पुरस्कृत गर्ने

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १९:१९

लन्डन । वसुन्धरा — मान प्रज्ञाप्रतिष्ठानले यो वर्षको वसुन्धरा पुरस्कार हास्यव्यङ्ग्यकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रज्ञाप्रतिष्ठान कुलपति डा. दुबसु क्षेत्रीको अध्यक्षतामा शुक्रवार बसेको विशेष बैंठकले सो निर्णय गरेको हो ।

बैंठकको निर्णय अनुसार नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई सार्थक, समृद्ध र समुन्नत बनाई नेपाली वाङ्मयलाई वैभवशाली र गरिमामय बनाउन विशिष्ट योगदान गरी विश्व समुदायमा नेपाली भाषा, कला र रङ्गमञ्चको स्थान र पहिचान उच्च र अक्षुण्ण राख्न विशिष्ट योगदान गर्नुहुने सुप्रसिद्ध कलाकार तथा हास्यव्यङ्ग्यकार मदनकृष्ण श्रेष्ठलाई विसं २०७६ सालको वसुन्धरा पुरस्कार प्रदान गरिने छ । पुरस्कारको साथमा नगद ५० हजार रुपिंयासहित सम्मानपत्र अर्पण हुनेछ ।

वसुन्धरा— मान प्रज्ञाप्रतिष्ठान सदस्य-सचिव कृसु क्षेत्रीका अनुसार प्रज्ञाप्रतिष्ठानको उक्त विशेष बैठकले नेपाली हास्यव्यङ्ग्य, नाटक, चलचित्र र टेलिचलचित्रहरुको सिर्जना तथा अभिनयद्वारा नेपाली कला, रङ्गमञ्च र हास्यव्यङ्ग्य क्षेत्रलाई अझ स्तरीय, शालीन र समृद्ध बनाई नेपाली वाङ्मयको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरी नेपाली कला र रङ्गमञ्चका क्षेत्रमा आफ्नो अलग्ग र विशिष्ट स्थान, पहिचान र वैशिष्ट्य कायम गर्नुहुने सुविख्यात कलाकार तथा हास्यव्यङ्ग्यकार हरिवंश आचार्यलाई विसं २०७६ सालको मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।पुरस्कारको साथमा नगद ५० हजार रुपियासहित सम्मानपत्र अर्पण हुने छ।

वि।सं।२००७ साल वैशाख ७ गते काठमाण्डौको जीतपुरफेदीमा जन्मनु भएका विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठ एवं विसं २०१४ साल कार्तिक २७ गते काठमाण्डौको टंगालमा जन्मनु भएका विशिष्ट कलाकार हरिवंश आचार्यले संयुक्तरुपमा यमलोक, प्यारालाइसिस, अंशवण्डा, कक-फाइट, रद्धीको टोकरी, रङ नम्वर, प्रश्नोत्तर, शपथग्रहण, ऐना, विज्ञापन, लण्डन एयरपोर्ट, वडा नं ३४, श्राद्ध, पिकनिक, अभिभावक, सङ्गीत, रिमोट कन्ट्रोल, नेपालबन्द, काउकुती, नाता, २०५, बोसे आन्द्रे भुँडीको, होस्टेहैँसे, सालिक, महदोहोरी र राष्ट्रिय गाउँखाने प्रतियोगिताजस्ता कालजयी हास्यव्यङ्ग्य सिर्जना गरी जीवन्त रङ्गमञ्चीय प्रस्तुति दिनु भएको छ।

सुप्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले वासुदेव, के घर के डेरा, लोभीपापी, ट्रक ड्राइभर, शत्रु गते र दालभात तरकारीजस्ता सफल नेपाली चलचित्रहरुमा अविस्मरणीय अभिनय एवं फिप्टीफिप्टी, सन्तति, २१ १६७७७ , भकुण्डे भूत, दशैं, पन्ध्र गते, चिरन्जीवी, रात, वनपाले, सुर-बेसुर, कान्तिपुर, राजमार्ग, पानी, कालाजार, असली लोग्ने, लक्ष्मी, लालपूर्जा, सृष्टि, जलपरी, भाइरस, टिकेको तीन मन्त्र र महचौतारीजस्ता लोकप्रिय नेपाली टेलिचलचित्रहरुको लेखन, अभिनय र निर्माण गर्नुभएको छ। स्रष्टाद्वय श्रेष्ठ र आचार्यले संयुक्त रुपमा ‘महसञ्चार’ नामक कला र रङ्गमञ्चसम्वद्ध संस्थाको स्थापना र सञ्चालनका साथै हास्यव्यङ्ग्यकृति ‘महसन’ को लेखन समेत गर्नु भएको छ।

यसअघि वसुन्धरा पुरस्कारद्वारा कविवर माधवप्रसाद घिमिरे (वि।सं।२०५७), वरिष्ठ उपन्यासकार दौलतविक्रम विष्ट (वि।सं। २०५८), वरिष्ठ कथाकार तथा नाटककार गोविन्दबहादुर मल्ल ‘गोठाले’ (वि।सं। २०५९) वरिष्ठ समालोचक यदुनाथ खनाल (वि।सं। २०६०), वरिष्ठ आख्यानकार मदनमणि दीक्षित (वि।सं। २०६१), वरिष्ठ उपन्यासकार डायमनशमशेर राणा (वि।सं। २०६२),वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई (वि।सं। २०६३), वरिष्ठ कवि मोहन कोइराला (वि।सं। २०६४), वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी (वि।सं। २०६५), वरिष्ठ समालोचक कृष्णचन्द्रसिंह प्रधान (वि।सं।२०६६), वरिष्ठ कवि वैरागी काइँला (वि।सं। २०६७), वरिष्ठ कवि धर्मराज थापा (वि।सं। २०६८), वरिष्ठ समालोचक प्रा।डा। वासुदेव त्रिपाठी (वि।सं। २०६९), वरिष्ठ चित्रकार शशी शाह (वि।सं। २०७०), वरिष्ठ कलाकार हरिप्रसाद रिमाल (वि।सं। २०७१), वरिष्ठ संगीतकार अम्वर गुरुङ्ग (वि।सं। २०७२), वरिष्ठ आख्यानकार लीलबहादुर क्षेत्री (वि।सं। २०७३), वरिष्ठ समालोचक प्रा। डा। तारानाथ शर्मा (वि।सं। २०७४) र वरिष्ठ गायक प्रेमध्वज प्रधान (वि।सं। २०७५) लाई प्रदान गरेको छ ।

त्यसैगरी प्रज्ञाप्रतिष्ठानले यसअघि मान पुरस्कारद्वारा कवि तथा गीतकार दिनेश अधिकारी (वि।सं। २०५७), साहित्यकार विनय रावल (वि।सं २०५८), नाटककार अशेष मल्ल (वि।सं २०५९), गजलकार ज्ञानुवाकर पौडेल (वि।सं। २०६०), साहित्यकार मञ्जुल (वि।सं। २०६१), कथाकार मधुवन पौडेल (वि।सं। २०६२), कवि विष्णुविभु घिमिरे (वि।सं। २०६३), कवि कृष्णभूषण बल (वि।सं। २०६४), कथाकार भुवन ढुंगाना (वि।सं। २०६५), कथाकार सनत रेग्मी (वि।सं। २०६६), कवि विजय बजिमय (वि।सं। २०६७), समालोचक डा। रामदयाल राकेश (वि।सं। २०६८), कथाकार डा। वेञ्जु शर्मा (वि।सं। २०६९), चित्रकार किरण मानन्धर (वि।सं। २०७०), कलाकार नीर शाह (वि।सं। २०७१), गायक दीप श्रेष्ठ (वि।सं। २०७२), साहित्यकार दुर्गाप्रसाद श्रेष्ठ (वि।सं। २०७३), साहित्यकार तथा सञ्चारकर्मी खगेन्द्र नेपाली (वि।सं। २०७४) र गायक भक्तराज आचार्य (वि।सं। २०७५) लाई प्रदान गरेको छ ।

=