१५ चैत्र २०८०, बिहीबार
Follow Us

आठौँ राष्ट्रिय खेलकुदमा एनआरएनए खेलाडीको अनुकरणीय काम

नेपालब्रिटेन डट कम्
६ बैशाख २०७६, शुक्रबार १९:५७

नेपालगञ्ज । नेपालगञ्ज रंगशालामा आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३ विभागीयसहित ११ टोलीको सहभागीता छ । १४ खेलको समाप्तिपछि हिजो बल्ल हिजो औपचारिक उद्घाटन भएको छ । पदकमा भने विभागीय टोलीको वर्चश्व छ ।

त्रिभुवन आर्मीले ३४ स्वर्ण सहित ८५ पदक, नेपाल पुलिसले १९ स्वर्ण सहित ५३ र एपीएफले १५ स्वर्णसहित ५० पदक जितेका छन् । सहभागी सवै टोलीले कम्तीमा एउटा स्वर्ण पदक हात पारेका छन् । अंक तालिकामा एउटा स्वर्ण र २ वटा कास्य पदक सहित पुछारमा रहेको एनआरएनका खेलाडीको गतिविधि भने मैदानभित्र मात्र हैन बाहिर पनि अनुकरणीय देखियो ।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन चलिरहँदा केही दिन अघि मात्र आफ्नो स्वरुप फेरेको नेपालगञ्ज रंगशालामा हजारौँको सहभागीता थियो । सहभागी सवै टोलीले उद्घाटन सत्रमा मार्च पास सहितको प्रस्तुती दिईरहदा उद्घाटन सत्र हेर्न आउने दर्शकदेखि मञ्चमा रहेका हजारौंका हातमा खानेकुरा देखिन्थे ।

उद्घाटन सत्रमा सहभागी राष्ट्रपतिसहितको भीआईपी अनि सर्वसाधारण बाहिरिएपछि, कार्यक्रम स्थल सरसफाईमा एकसाथ जुट्यो, गैरआवासीय नेपालीको खेलकुद टोली । अरुलाई देखाउन नभई स्वविवेकले आफूले गरेको फोहोर आफैंले सफा गर्नुपर्छ भन्ने धारणाले सफाई गरेको एनआरएनए मध्यपुर्वका पुर्व उपसंयोजक धर्मराज गिरीले बताउनुभयो ।

आठौं राष्ट्रिय खेलकुदमा सहभागी विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरुको ५० जनाको टोलीले निमेशभरमा मैदानलाई पूर्ववत अवस्थामा पुर्‍यायो । संस्कारको सुरुवात आफैबाट गनुपर्छ भन्ने पाठ मात्र गैआवासिय नेपालीहरुले प्रवाह गरेनन् आफ्नो सम्पत्तिको संरक्षण गर्न पनि नेपालीलाई सिकाए ।

सरसफाईको सो क्रमलाई चर्चाका लागि गरेको भनेर नबुझिदिन एनआरएनएकी कराँते खेलाडी शान्ती अधिकारी आग्रह गर्नुहुन्छ । आफ्नो पहिचान नकारात्मक रुपबाट मात्र नभई सकारात्मक कामबाट पनि गरौ भन्ने राम्रो उदाहरण बनेको यो प्रयासले मैदानमै खानेकुरा बोकेर जाने जो कोहीलाई सरसफाईंको पाठ सिकाउँला कि । सँगै लज्जा बोध पनि महसुस गराउँछ कि ?
– Radio Kantipur