१४ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रदीप पौडेलको नेतृत्वमा देशभर पानीको मूल संरक्षण अभियान शुरु

नेपालब्रिटेन डट कम्
७ बैशाख २०७६, शनिबार १२:१६

नेपाली कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य प्रदीप पौडेलले पानीको मूल तथा पोखरी संरक्षण अभियान थालनी गर्दै यसलाई देशव्यापी अभियान नै बनाइने घोषणा गरेका छन् । स्वच्छ खानेपानी आम मानिसको आधारभूत आवश्यकता रहेकाले पानीको मूल आसपासको क्षेत्र सफा राख्नु सबैको दायित्व हो भन्दै पौडेलले अभियान घोषणा गरेका हुन् ।

विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, पेशाकर्मी, संचारकर्मी लगायतको उपस्थितिमा पौडेलले आफ्नो जन्मथलो तनहुँ ढोरफिर्दी स्थित ठूलो पधेँरोको पानी पिउँदै अभियानको थालनी गरे । पौडेलकै नेतृत्वमा ठूलो पधेँरो आसपासको क्षेत्रमा विभिन्न १ सय २३ प्रजातिका बोट विरुवा पनि रोपिएका छन् । आम मानिसलाई ठूला ठूला सपना देखाएर रनभुल्लमा पार्नुभन्दा आफ्नो वरपरको क्षेत्रमा सजिलै गर्न सकिने रचनात्मक विकासका कार्यमा प्रोत्साहित गर्न आफूले यस्तो अभियान शुरु गरेको पौडेल बताउँछन् ।

उनले यस अभियानलाई सहयोग गर्न सबैलाई अपिल पनि गरेका छन् । नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष समेत रहिसक्नु भएका पौडेलको यस किसिमको रचनात्मक कार्यको जिल्ला र जिल्ला बाहिर निकै प्रशंसा भएको छ । राजनीतिलाई समाजसेवाको अभिन्न अंगको रुपमा व्याख्या गर्नु हुने पौडेलकै नेतृत्वमा हालै बारा, पर्सा तथा रौतहटका आँधीवेहरी पीडित सयौं स्थानीयलाई राहत सामाग्री बाँडिएको थियो ।