१५ बैशाख २०८१, शनिबार
Follow Us

संविधान संशोधन नभए सरकार छाड्ने फोरम नेताको चेतावनी

sarusaru
८ बैशाख २०७६, आईतवार ०४:३०

काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका महासचिव रामसहाय प्रसाद यादवले बारा र पर्सामा हावाहुरीका कारण प्रभावित बनेका पीडितहरुको लागि स्थायी बसोबासका लागि सरकारले घोषणा गरेको प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् ।

रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा महासचिव यादवले पीडित परिवारको दुःख, कष्ट निवारणमा सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने ध्यानाकार्षण गराए । उनले भ्रष्टाचारीलाई सरकारले कारबाही गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘भ्रष्टाचारी, कमिशनखोर, अपराधीलाई सरकारले पत्ता लगाउनुपर्छ । अहिले चर्चामा आएका भ्रष्टाचारीहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छ । भ्रष्टाचारीहरुलाई खोजी खोजी कानूनी कठघरामा उभ्याउनुपर्छ ।’

वर्तमान सरकार गठन भएको परिस्थितिको बारेमा उल्लेख गर्दै यादवले भने,‘विगत तीन वर्षमा नभएका काम यो सरकारले गरेको छ । संविधानले परिकल्पना गरेबमोजिम ऐन, कानूनहरु आएका छन् ।’

सरकारले जनताको हितमा काम गरिराखेको पनि जिकिर गरे । यद्यपी जनताले अपेक्षा गरेबमोजिम सरकारले काम गर्न नसकेको उनको स्विकारोक्ति थियो । उनले भने, ‘सरकारको कामको गति बढेको छैन् । अब यसतर्फ पनि सोच्नुपर्छ ।’ विगतको तुलनामा भ्रष्टाचार झनै बढेको उनको आरोप छ ।

कर्मचारीतन्त्र विगतझैं रहेको र उनीहरुको काम गर्ने शैलीमा कुनै परिवर्तन नआएको पनि यादवले टिप्पणी गरे । उनले भने, ‘यसलाई पनि सरकारले सधार्नुपर्छ ।’

यादवले सरकारले विगतमा आफूहरुसँग गरेका सहमति तथा सम्झौताहरु कार्यान्वयन नगरेकोमा भने आक्रोश पोखे । उनले भने, ‘संविधान संशोधन गर्न यो सरकार संवेदनशील बनेन । सरकार अँझै पनि सहमति कार्यान्वयन गरेर जाओस् भन्ने नै हामी चाहन्छौं । आउने संसद–अधिवेशनमा संशोधन प्रस्तुत भएन भने हामी सरकारमा टाँसिरहँदैनौं । सरकारबाट बाहिरिन्छौं ।’

संविधान संशोधन गर्नको लागि दुई तिहाई बहुमत चाहिने भएकोले आफूहरु सरकारमा सहभागी भएको उनको जिकिर छ । संविधान संशोधनको लागि अब धेरै कुर्ने बेला नभएको उनले जिकिर गरे ।

संविधान र संघीयताको मर्मअनुसार प्रदेश तथा स्थानीय तहलाई अधिकार नदिएको उनको आरोप छ । उनले भने, ‘प्रदेशलाई अधिकारविहीन बनाईएको छ । विकास निर्माणका कामहरु भएका छैनन् । त्यसैले प्रदेशलाई अधिकारसम्पन्न बनाउनुपर्छ ।’
डिसी नेपाल