१४ बैशाख २०८१, शुक्रबार
Follow Us

साउदी राजकुमारलाई मृत्युदण्ड दिइयो

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७३, बुधबार ०७:१५

रियाद । अत्यधिक मृत्युदण्डका लागि चर्चित रहेको साउदी अरेबियाले राजपरिवार सदस्य राजकुमार तुर्की बिन साउद अल-कबीरलाई हत्या अभियोगमा गत मङ्गलबार मृत्युदण्ड दिएको बताएको छ ।

राजकुमार तुर्कीमाथि सन् २०१२ मा आफ्नै साथीको गोली हानी हत्या गरेको अभियोग थियो । उनलाई कसरी मृत्युदण्ड दिइयो भन्ने नखुलाइएता पनि अधिकांश केसमा तरबारले टाउको काटेर मृत्युदण्ड दिने चलन साउदीमा रहेको छ ।

मृत्युदण्ड एकदम सामान्य रहेको साउदीमा राजपरिवार सदस्यलाई दिइएको यस्तो मृत्युदण्डलाई भने असामान्य मानिएको छ ।

मानवअधिकारवादी संस्थाहरूले साउदी न्यायप्रणालीको निष्पक्षतामाथि प्रश्न उठाउँदै आएका छन् । तर अरब न्यूजले यो घटनाको हवाला दिँदै साउदीको न्यायव्यवस्था सबैका निम्ति समान रहेको सन्देश दिएको छ ।

गतवर्ष १५८ जनालाई मृत्युदण्ड दिइएको थियो । इरान र पाकिस्तानपछि यो सङ्ख्या तेस्रो हो ।

साउदीको न्याय व्यवस्था कट्टर मुस्लिम कानुनमा आधारित रहेको छ । जसनुसार हत्या, लागू औषध कारोबार, बलात्कार, सशस्त्र लूट र धर्मपरिवर्तनका आरोपमा सजिलै मृत्युदण्ड दिइने गरेको छ ।

राजकुमार तुर्की साउदी राजगद्दीका उत्तराधिकारी भने थिएनन् । हजारौंको संख्यामा रहेको साउदी राजपरिवारका सदस्यहरू प्रायः सबै अकूत सम्पत्तिका मालिक भए पनि प्रत्यक्ष राजनीतिमा भने कममात्र सक्रिय रहेको पाइन्छ ।