११ बैशाख २०८१, मंगलवार
Follow Us

अब ५० दिनमै इआइएः मन्त्री बस्नेत

sarusaru
८ बैशाख २०७६, आईतवार ११:०४

रसुवा – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रारम्भिक वातावरणीय अध्ययन (आइइई) र वातावरणीय प्रभाव अध्ययन मूल्याङन (इआइए) का लागि अबदेखि ५० दिनभन्दा बढी नलाग्ने घोषणा गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालयलाई विकासविरोधीका रुपमा बुझिने गरिएकामा आफ्नो कार्यकालमा त्यसमा परिवर्तन ल्याउने प्रतिबद्धता उहाँको छ ।
‘अब आइइई र इआईएका कारण विकास आयोजनामा ढिलाई हुने छैन’, रसुवाको धुन्चेमा गोसाइंकुण्ड गाउँपालिका र लाङटाङ राष्ट्रिय निकुञ्जद्वारा शनिबार संयुक्त रुपमा आयोजित २४ औं वन्यजन्तु सप्ताह समापन तथा पालिक भ्रमण वर्ष कार्यक्रममा मन्त्री बस्नेतले भन्नुभयो, ‘इआईए र आईइको काम ५० दिनमा सक्ने गरी तयारी गरिरहेका छौं, अब त्यो काममा ५१ दिन लाग्न दिनेछैन ।’ उहाँले वन मन्त्रालयका कारण विकासका काममा ढिलाई वा अवरोध भयो भन्ने गुनासो आउन नदिने प्रतिबद्धता जनाउनुभयो । सरकारले समृद्धिको अगुवाई गरिरहेको चर्चा गर्दै मन्त्री बस्नेतले समृद्धिको यात्रामा आमजनता सरिक नभएसम्म नतिजा नआउने प्रष्ट्याउनुभयो । विकासका काममा सरकार र प्रतिपक्षको भावना राख्न नहुनेमा जोड दिँदै उहाँले सरकारबाहिर रहेका दल र शक्तिलाई पनि सहकार्यका लागि अपिल गर्नुभयो । ‘समृद्धि हामी सबैको साझा एजेण्डा हो’, उहाँले भन्नुभयो, ‘यो वा त्यो बहानामा फरक बाटो हिंड्न जरुरी छैन ।’
नेपालले लामो समयदेखि केही निश्चिित व्यक्ति थप धनी हुने र गरिब झन् गरिब हुने दुःखद परिस्थितिको सामना गर्दै आएको र वर्तमान सरकारले त्यसलाई रोक्ने भनाइ उहाँको थियो । सरकारले पछिल्लो एक वर्षमा के काम ग¥यो भन्ने प्रश्न उठिरहेकोबारे आफूहरु जानकार रहेको भन्दै उहाँले बितेको एक वर्षमा नयाँ संविधानअनुसारको ऐन÷कानून बनाउनुका साथै समृद्धिको बलियो आधार खडा भएको बताउनुभयो ।
मन्त्री बस्नेतले रसुवाको गोसाईंकुण्ड क्षेत्रमा पाइने रेड पाण्डा संरक्षण गर्ने सके स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न सकिने भएकाले त्यसमा लाग्न स्थानीय सरोकारवालासँग आग्रह गर्नुभयो । कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय हितबहादुर तामाङ र सत्या पहाडी लगायतको उपस्थििति थियो ।