१५ चैत्र २०८०, बिहीबार
Follow Us

नेकपामा जुटयो सहमति, आज घोषणा हुँदै

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७६, सोमबार ०३:११

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लागेको छ । शीर्ष नेताबीच सहमति जुटेपछि आज (सोमबार) जिल्ला कमिटीको घोषणा हुँदै छ ।

३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता घोषणा भएको थियो । पार्टी एकता भएको ११ महिनापछि जिल्ला कमिटीले पुर्णता पाउँदै छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच विगत एक सातादेखि गहन छलफलपश्चात सहमति जुटेको छ ।

पछिल्लो समय गठन भएको एकता कार्यदललाई विघटन गर्दै सचिवालय कमिटीले जिल्ला तहको नेतृत्व टुंगो लगाउन शीर्ष नेतृत्वलाई जिम्मेवारी दिएको थियो । शीर्ष नेताहरूबीच सहमति जुटेपछि आइतबार बसेको सचिवालय बैठकले सोमबार जिल्ला कमिटी घोषणा गर्ने निर्णय गरेको छ ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार जिल्ला कमिटीको घोषणा गरिने बताए । सचिवालय बैठकमा जिल्ला नेतृत्वको विषयमा छलफल भएको बताउँदै उनले सोमबार घोषणा गर्ने तयारी भएको बताए ।

‘७७ वटै जिल्ला कमिटीको अध्यक्ष र सचिवको टुंगो लागेको छ,’ श्रेष्ठले भने, ‘सचिवालय बैठकमा छलफल भएको र अब सोमबार घोषणा गर्ने तयारी रहेको छ ।’

७७ जिल्लाकै अध्यक्ष र सचिवको नाम सोमबार प्रज्ञा भवनमा कार्यक्रम गरेर सार्वजनिक गर्ने तयारी नेकपाले गरेको छ । लामो गृहकार्यपश्चात् नेतृत्व टुंगो लाग्ने भएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री ओली, अर्का अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपालका साथै वरिष्ठ नेता झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र महासचिव विष्णु पौडेललगायतका नेता निरन्तर छलफल गर्दै जिल्ला तहको एकता टुंगो लगाउन सफल भएका हुन् ।

यसअघि नै सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटीको घोषणा भइसकेको छ । जिल्ला तहको एकता टुंगो लागे पनि पोलिटब्युरो कमिटी, केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, जनवर्गीय संगठन र स्थानीय तहको एकता भने अझै टुंगो लागेको छैन ।

७७ जिल्ला कमिटीमध्ये ४५ तात्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने सहमति भएको छ । एमालेले अध्यक्ष पाउने जिल्लामा माओवादीले सचिव र माओवादीले अध्यक्ष पाउने जिल्लामा एमालेले सचिव पाउने सहमति भएको छ ।

एकता टुंगो लाग्नमा ढिलाइ भएका कारण त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत परेको छ । पार्टीको बैठक, प्रशिक्षण, भेलालगायतका गतिविधि अहिले शून्य जस्तै भएको छ । जिम्मेवारी बाँडफाँट एवं एकता टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता नै बेरोजगार भएका छन् । राजधानी दैनिकमा खबर छ ।