१३ बैशाख २०८१, बिहीबार
Follow Us

एनआरएनलाई नेपालकाे सेयर बजारमा भित्राउने तयारी

नेपालब्रिटेन डट कम्
३ कार्तिक २०७३, बुधबार १०:४९

गैरआवासीय नेपाली (एनआरएन)ले पनि नेपालको दोस्रो पुँजी बजारमा लगानी गर्न सक्ने भएका छन्। यस सम्वन्धमा कार्यविधि बनाउन एक समिति गठन भएको छ।

धितोपत्र बोर्ड नियमन तथा व्यवस्थापन विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा गठित समितिमा अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेप्सेका पदाधिकारीहरु सदस्य रहने छन्। समितिमा एनआरएनको समेत प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीका अनुसार गठित समितिले एनआरएनको लगानी सहज रुपमा पुँजी बजारमा भित्र्याउने र चाहेका बेला बाहिरिन सक्नेगरी कार्यविधि बनाएर बोर्डमा पेश गर्नेछ। बोर्डले सो सम्वन्धमा सम्बद्ध सबै पक्षसँग छलफल गरी काम अघि बढाउने छ।

उक्त समितिले एनआरएनको सहभागिताबाट धितोपत्रको दोस्रो बजार हुँदै अर्थतन्त्रमा पर्ने प्रभाव समेतको अध्ययन गरी दुई महिनाभित्र कार्यविधि तयार गर्नेछ। ‘हालका लागि कन्सुलेट स्थापना गरी सोमार्फत एनआरएनको पुँजी बजारमा लगानी हुनेगरी प्रक्रिया अगाडि बढाइने छ’ गिरीले भने।

बजारमा सहजरुपमा प्रवेशको लागि एनआरएनले पटक पटक माग गर्दै आईरहेका छन्। विगतकोे बजेटले समेत एनआरएनको लगानी आकर्षित गराउने नीति लिएको छ।

धितोपत्र बोर्डले यसअघि गैर आवासीय नेपाललीलाई पुँजी बजारमा लगानीका लागि वातावरण बनाउने प्रतिबद्धता जनाएको छ। सो अनुरुप पहिलो चरणमा कार्यविधि बनाउन समिति गठन गरेको हो।

यसको कार्यान्वयन पश्चात धितोपत्रको दोस्रो बजारको दायरा फराकिलो हुने र नेपाली अर्थतन्त्रमा सकरात्मक प्रभाव पर्ने बोर्डको अपेक्षा छ।