१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन युकेको निर्वाचन १४ सेप्टेम्वरमा, अध्यक्षमा ५ आकांक्षी

नेपालब्रिटेन डट कम्
९ बैशाख २०७६, सोमबार २१:३२

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको ८ औं महाधिवेशन आगामी सेप्टेम्वर १४ र १५ तारिख अल्डरशटमा हुने भएको छ ।

संघको सोमवार नटिंघममा बसेको बैठकले सेप्टेम्वर १४ तारिखमा नयाँ नेतृत्वको लागि निर्वाचन र १५ तारिख साधारणसभा गर्ने निर्णय गरेको महासचिव राजकुमार त्रिपाठीले जानकारी दिए ।

त्रिपाठीका अनुसार सो निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न इच्छुक व्यक्तिहरुले ३१ जुलाई भित्र संघको पन्जिकृत सदस्यको लागि आवेदन दिई सक्नु पर्ने छ ।

सदस्यतालाई व्यवस्थित गर्न संघले छुट्टै सचिवालय संचालन गर्ने भएको छ । सो सचिवालयको कार्यालय सचिवको रुपमा पूर्ण गुरुङ रहने छन् । यस्तै अध्यक्ष योग कुमार फगामी तथा महासचिव राजकुमार त्रिपाठी रहेको एक सदस्यता सम्वन्धी समिति गठन गरिएको छ । बैठकले सदस्यता सम्वन्धी विवादको अन्तिम निर्णय लिने अधिकार फगामी र त्रिपाठीलाई दिइएको छ ।

महासचिव त्रिपाठीका अनुसार सदस्यता सम्वन्धी कुनै विवाद उत्पन्न भएमा संघको सचिवालयमा उजुरी दिन सकिनेछ ।

बैठकले सदस्यता नविकरण वा नयाँ सदस्यता लिनेहरुको सुविधाको लागि अनलाइन तथा कागजी फारम दुबैलाई मान्यता दिने निर्णय गरेको छ । एनआरएन युकेको सदस्यता शुल्क १० पाउण्ड तोकिएको छ ।

उपमहासचिव विनय अधिकारीका अनुसार निर्वाचन समितिको गठन १९ मेमा हुने अर्को बैठकले गर्ने निर्णय भएको छ ।

संघका अध्यक्ष योग कुमार फगामीको अध्यक्षमा बसेको बैठकमा उपाध्यक्षहरु पुनम गुरुङ, शेर सुनार, शुशिला राई, प्रेमगाहा मगर, ललित न्यौपाने, महासचिव राजकुमार त्रिपाठी, उपहासचिव विनय अधिकारी, सचिव तारानाथ भण्डारी, सदस्यहरु होमनाथ पौडेल, नारायण गाउँले, रामचन्द्र पोखरेल, राजन खकुरेल, गंगा राना, जीत रानाभाट, अर्कराज तिमल्सिना लगायतको उपस्थिती थियो ।

अध्यक्षमा ५ जनाको दावी
बैठकमा वर्तमान कार्यसमितिका अधिकांस पदाधिकारीले आगामी महाधिवेशनमा आफुहरुले पुनः उम्मेदवारी दिने इच्छा व्यक्त गरेका थिए । अधिकारीका अनुसार वर्तमान उपाध्यक्षहरु पुनम गुरुङ, शेर सुनार, शुशिला राई, प्रेमगाहा मगर, ललित न्यौपानेले आगामी अधिवेशनमा आफुहरुले अध्यक्ष पदको लागि आकांक्षी भएको बैठकमा जानकारी दिएका थिए ।

महासचिव राजकुमारी त्रिपाठीले विश्वभरका एनआरएनसंग छलफल गरेर अन्तिम निर्णय लिने बताउँदै युरोप संयोजकमा जान सक्ने संकेत गरेका थिए ।

यस्तै सदस्य अर्कराज तिमल्सिनाले संघको केन्द्रीय सदस्यमा जाने इच्छा देखाएका थिए भने राजन खकुरेलले कोषाध्यक्षको जिम्मेवारी लिन इच्छुक भएको वताएका थिए ।

सदस्य जीत रानाभाटले आउने कार्यसमितिमा सचिवको पदमा उम्मेदवारी दिने वताएका थिए ।

बैठकले मे २५ तारिख अल्डरशटमा एनआरएन बहस कार्यक्रम गर्न उपमहासचिव विनय अधिकारीलाई संयोजक तोकेको छ ।