१३ बैशाख २०८१, बिहीबार
Follow Us

खेलमैदान निर्माणका लागि ११ जनाले गरे साँढे २९ रोपनी जग्गा दान

sarusaru
१० बैशाख २०७६, मंगलवार ०२:१६

खोटाङ । जिल्लाको उत्तरी क्षेत्रमा पर्ने ऐसेलुखर्क गाउँपालिकाका स्थानीयवासीले इलाका प्रशासन कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र, बसपार्क र खेलमैदान निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका छन्।

लामो समयदेखि भाडाको घरमा सञ्चालन भइरहेको इलाका प्रशासन कार्यालयको भवन निर्माणका लागि स्थानीयवासी गोपीकृष्ण लयालु, शम्भु दाहाल र मदन दाहालले निुःशुल्क जग्गा उपलब्ध गराएका हुन्।

यस्तै सीमित जग्गामा निर्माण गरिएको भवनमा सञ्चालन हुँदै आएको प्राथमिक स्वास्थ्य केन्द्रका लागि अन्य आवश्यक संरचना निर्माण गर्न स्थानीयवासी रामकुमार कालीकोटेले पाँच रोपनी तीन आना जग्गा निःशुल्क उपलब्ध गराएका छन्। प्राप्त जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम थालिने जनाइएको छ।

हालसम्म जथाभावी पार्किङ गरिँदै आइएको यातायातका साधन व्यवस्थित गर्न निर्माण गर्न लागिएको बसपार्कका लागि स्थानीय सन्तवीर तामाङले साविकको ऐंसेलुखर्क–५ मा छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका हुन्। बस पार्कका लागि थप जग्गा आवश्यक परे स्थानीयवासीले निःशुल्क रूपमै उपलब्ध गराउने बताएका छन्।

खेलमैदान निर्माणका लागि ११ जना स्थानीयवासीले साँढे २९ रोपनी जग्गा उपलब्ध गराएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए। गाउँपालिकास्तरीय खेलमैदान निर्माण गर्नका लागि धु्रव राजभण्डारी, गोपालकृष्ण राजभण्डारी, रत्नकुमारी राजभण्डारी, पदमकुमारी राजभण्डारी, विष्णुमाया राजभण्डारी, अञ्जना राजभण्डारी लगायतले निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।

खेल मैदानका लागि भीमबहादुर राजभण्डारी, कमलकुमारी राजभण्डारी, खड्गबहादुर राजभण्डारी, भाइकाजी राजभण्डारी र भूपेन्द्र राजभण्डारीले पनि निःशुल्क जग्गा दिन तयार भएको गाउँपालिकाले जनाएको छ। खेलमैदानका लागि स्थानीय छ जना जग्गा दाताले गाउँपालिकाको स्वामित्वमा रहनेगरी जग्गा पास गरिसकेका गाउँपालिका प्रमुख निरौलाले बताए।

स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको जग्गामा यसै वर्षबाट आवश्यक संरचना निर्माणको काम शुरु गरिने गाउँपालिका प्रमुख निरौलाले जानकारी दिए। ऐसेलुखर्कमा गाउँपालिकाको केन्द्र स्थापना भएपछि आवश्यक भौतिक संरचना निर्माण गर्न गाउँपालिकाको पहलमा निःशुल्क जग्गा खोजी भएको थियो।
डिसी नेपाल