६ बैशाख २०८१, बिहीबार
Follow Us

सन्दीपको टोली आईपीएलको दिल्ली शीर्ष स्थानमा

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७६, मंगलवार १०:५६

नेपालका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । सोमबार राति भएको खेलमा दिल्लीले राजस्थान रोयल्सलाई ६ विकेटले हरायो । यद्यपी दिल्लीले यस खेलमा सन्दीपलाई बेन्चमा राखेको थियो ।

जयपुरस्थित सवाई मानसिंह क्रिकेट स्टेडियममा राजस्थानले दिएको एक सय ९२ रनको लक्ष्य दिल्लीले १९.२ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । दिल्लीको जितमा ऋसव पन्त र शिखर धवनले अर्धशतकीय इनिङ खेले । ऋसवले अविजित ७८ रन बनाए । शिखरले ५४ र पृथ्वी शले ४२ रन बनाए । बलिङमा राजस्थानका श्रेयस गोपालले दुई तथा धवन कुलकर्णी र रियान परागले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर एक सय ९१ रन बनाएको थियो । राजस्थानका लागि अजिका रहानेले १०५ रनको सानदार शतकीय इनिङ खेलेपनि टोली हारबाट जोगिएन । ६३ बलमा अविजित उक्त रन जोडेका रहानेले ११ चौका र ३ छक्का हानेका थिए । कप्तान स्टिभ स्मिथले ५० र स्टुवार्ड विनीले १९ रन बनाए । बलिङमा दल्लीका कागीसो राबडाले दुई विकेट लिए । इशान शर्मा, क्रिस मोरिस र अक्षर पटेलले एक एक विकेट झारेका थिए ।

यस जितसँगै शीर्ष स्थानमा उक्लिएको दिल्लीले ११ खेलबाट १४ अंक बनाएको छ ।