१५ चैत्र २०८०, बिहीबार
Follow Us

मुलुकमा फेरि विद्रोह हुने भ्रम नपाल्न प्रचण्डको आग्रह

sarusaru
१० बैशाख २०७६, मंगलवार १२:२६

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा फेरि विद्रोह गर्ने भ्रम नपाल्न सबैलाई आग्रह गरेका छन्।

अध्यक्ष प्रचण्डले फेरि विद्रोह, फेरि हिंसा र आन्दोलन गर्नुपर्ने अवस्था आउने हो कि भन्ने भ्रम लिएर नहिँड्न आदिवासी/ जनजाति समूदायलाई आग्रह गरे। उनले नेत्र विक्रम चन्द नेतृत्वको नेकपा आदिवासी जनजातिको पक्षमा नरहेको जिकिर गरे।

मंगलबार ललितपुरमा आयोजित आदिवासी/जनजातिहरुको अधिकारसम्बन्धि उच्चस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आदिवासी/जनजातिको अधिकार सुनिश्चित हुने गरी संविधानमा विभिन्न आयोगको व्यवस्था गरिएको उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि सरकार र राजनीतिक नेतृत्वलाई दवाव दिने गरी वृहत बहसको सुरुवात गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।

अध्यक्ष दाहालले संविधानमा व्यवस्था गरिएका स्वायत्त प्रदेश, स्वायत्त क्षेत्र र संरक्षित क्षेत्र कार्यान्वयनका लागि वातावरण बनाउने गरी सरकारलाई दवाव दिन जरुरी रहेको बताए। उनले संविधानमा किटान गरिएको आदिवासी/जनजातिहरुको पहिचान अनुसार विकास, निर्माणको कामलाई अघि बढाउन गाउँपालिका, नगरपालिका र वडामा समेत सरकारको परिकल्पना गरिएपनि सो अनुसार काम हुन नसकेको बताए।

अध्यक्ष दाहालले नेपालको राष्ट्रिय एकतालाई बलियो बनाउन सबै जातिहरुको आत्मसम्मान हुने गरी विकास, निर्माणको कामलाई अघि बढाउनुको विकल्प नरहेको पनि दोहोर्याए।
डिसी नेपाल