१६ चैत्र २०८०, शुक्रबार
Follow Us

महिला फुटबलमा नेपाल पुलिस तेस्रो

sarusaru
११ बैशाख २०७६, बुधबार १२:४०

घोराही । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत महिला फुटबलमा आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

दाङको बेलझुण्डी रङ्गशालामा भएको प्रदेश नं ३ सँगको निकै प्रतिस्पर्धात्मक र रोचक खेलमा ‘सडन डेथ’ बाट पुलिसले जीत हासिल गरेको हो । पहिलो हाफमा कसैले पनि गोल गर्न नसके पनि दोस्रो हाफको २७ औँ मिनेटमा प्रदेश नं ३ का तर्फबाट जर्सी नम्बर ७ की मनिषा थापाले गोलको शुरुआत गरेकी थिइन् ।

३४ औँ मिनेटमा पुलिसका तर्फबाट जर्सी नम्बर १४ की निरु थापाले जवाफी गोल फर्काइन् । निर्धारित समयमा एक÷एक गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरमा ४÷४ को बराबर गोल भएपछि अन्तिम नतिजा सडन डेथमा निकालिएको थियो ।

टाइब्रेकरमा पुलिसकी नीरु थापा, घिमकुमारी गुरुङ, सिर्जना खड्का र निर्मला विकले गोल गरेका थिए । टाइब्रेकरमा जर्सी नम्बर ५ की अमृता जैसीले हानेको गोल असफल भएको थियो । त्यसपछि सडन डेथमा जर्सी नम्बर ४ की रेबिका पाण्डे र १९ की रञ्जिता गुरुङले गोल गरेर पुलिसलाई विजयी बनाए ।

यसैगरी टाइब्रेकरमा प्रदेश ३ की सुभद्रा खड्का, सञ्जु कुँवर, सुष्मा तामाङ र मनिषा थापा मगरले गोल गरेका थिए । प्रदेश नं ३ की खेलाडी रजनी श्रेष्ठले टाइब्रेकरमा गोल गर्न सकेकी थिइनन् । त्यसपछि सडन डेथमा प्रदेश ३ की पार्वती घले गोल गर्न सफल भए पनि लक्ष्मी तामाङले गोल गर्न सकिनन् ।

महिला फुटबलको उपाधिका लागि आज दुई विभागीय टिम त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब भिड्दै छन् । प्रतियोगितामा हावी देखिएका दुवै टिमको फाइनल भिडन्त कडा प्रतिस्पर्धा र रोमाञ्चक हुने अनुमान गरिएको छ ।
डिसी नेपाल