४ बैशाख २०८१, मंगलवार
Follow Us

लण्डनमा नेपाल सेन्टर यूकेको स्थापना

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७६, बिहीबार ०८:५८

लण्डन । ब्रिटेनको ऐतिहासिक हाउस अफ लर्ड्समा नेपाल सेन्टर यूके नामक संस्थाको उद्घाटन गरिएको छ। कार्यक्रमको संचालन लर्ड इभान्सले गरेका थिए ।

बुधबार अपरान्ह आयोजित कार्यक्रम लाई सम्वोधन गर्दै लेबर पार्टीका सांसद वीरेन्द्र शर्माले ब्रिटेन तथा नेपालबीच सम्वन्ध बहुआयामिक रहेको बताए। उनले नया संस्थाले नेपाल तथा ब्रिटेनबीच पूलको रुपमा काम गर्ने आशा पनि ब्यक्त गरे। गैर आवासीय नेपाली संघका उपाध्यक्ष कुल आचार्यले नेपाल तथा ब्रिटेनबीच कला तथा संस्कृतिको क्षेत्रमा सहयोग बढाउन गठन भएको सेन्टरको सफलताको कामना गरे।

काठमाडौँ स्थित सेन्टर फर नेप्लिज कल्चर नेपाल सेन्टरका अध्यक्ष निर्मल कुमार थापाले संस्कृतिले मानिसहरुलाई जोड्छ भन्दै लन्डन पछि बेइजिङ्ग र दिल्लीमा पनि सेन्टरले शाखाहरु खोल्न लागेको जानकारी दिए ।

नेपाल सेन्टर यूकेकि सदस्य डा संगीता श्रेष्ठले सेन्टरले ब्रिटेनमा नेपाली कला र संस्कृति झल्काउने नेपाल हाउस बनाउने, कला प्रदर्शनी तथा संस्कृतिक कन्सर्टहरू आयोजना गर्ने र निकट भविस्यमा एउटा मौलिक नेपाली रेस्टुरेन्ट स्थापना गर्ने बताइन। उनले यी उद्यमहरुबाट प्राप्त मुनाफा नेपाली संस्कृतिक गतिविधिको प्रवर्धन गर्न खर्च गरिने पनि जनाइन। सन् २०१९ मै नेपाली क्यालेन्डर प्रकाशन गर्ने, फिल्म फेस्टिवल आयोजना गर्ने, सन् १९८० भन्दा अघि ब्रिटेन आएका नेपाली हरु तथा सन् १९८० देखि सन् २००० को बीचमा ब्रिटेन आएका नेपाली हरुको अनुभव समेटेर दुइवटा पुस्तक यसै वर्ष प्रकाशन गरिने पनि सेन्टरले जनाएको छ।

सेन्टरका सदस्यहरु मनोज शर्मा तथा स्नेहा श्रेष्ठले सेन्टरको बारेमा थप जानकारी दिएका थिए। कार्यक्रममा लर्ड ब्राउन, एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामी, चर्चित गायक योगेश्वर अमात्य, गोर्खा ब्रिगेडका अधिकृतहरु , भारतीय मूलका ब्रिटिश व्यवसायीहरु लगायतको उपस्थिति थियो।


फोटो- एभ्रेष्ट गौतम