६ बैशाख २०८१, बिहीबार
Follow Us

मार्चमा विदेशी लगानीकर्ता सम्मेलन हुने

नेपालब्रिटेन डट कम्
४ कार्तिक २०७३, बिहीबार १५:३४

सरकारले आगामी मार्च (फागुन–चैत)मा विदेशी लगानीकर्ता सम्मेलनको तयारी गरिरहेको छ ।

उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग आज भएको भेटमा औद्योगिक वातावरणका लागि आवश्यक नीतिको तर्जुमा भइरहेको जानकारी दिँदै सम्मेलनमा अमेरिकी लगानीकर्ताको समेत उल्लेख्य सहभागिताका लागि अनुरोध गर्नुभयो । मन्त्री जोशीले नीतिगत सुधारका क्रममा अहिले विशेष आर्थिक क्षेत्र(सेज) र औद्योगिक व्यवसाय प्रवद्र्धन ऐन संसद्बाट पास भइसकेको र कम्पनी ऐन, वैदेशिक लगानीसम्बन्धी कानुन र बौद्धिक सम्पत्तिसम्बन्धी कानुन पास हुने क्रममा रहेको बताउनुभयो ।

उहाँले विदेशी लगानीसम्बन्धी कानुनले विदेशी लगानीका स्वरुपलाई स्पष्ट रुपमा परिभाषित गरेको, प्रविधि हस्तान्तरणका स्वरुप र विदेशी लगानी प्रवद्र्धनका लागि लगानी प्रवद्र्धन बोर्डको स्थापना गरिएको, गैरआवासीय नेपालीको लगानीमा थप सहजता र विदेशी लगानीको प्रवेश र बर्हिगमनका सम्बन्धमा स्पष्ट व्यवस्था गरिएको तथा जग्गा प्राप्तिलाई सहजीकरण गरिएको जस्ता विशेषता प्रस्तावित नीति तथा कानुनमा उल्लेख भएको पनि बताउनुभयो ।

सो अवसरमा अमेरिकी राजदूत टेप्लिजले नेपालले बौद्धिक सम्पत्तिसम्बन्धी नीति तयार गर्दा आफ्नो मुलुकका साथै वैदेशिक लगानीकर्ताको हितलाई समेत सम्बोधन गर्न सक्नुपर्ने सुझाव दिनुभएको उद्योगमन्त्रीका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिनुभयो । रासस