७ बैशाख २०८१, शुक्रबार
Follow Us

बिदा थप्नेदेखि १ लाख राहत दिनेसम्मका सरकारी निर्णय यस्ता छन्

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार ०८:१२

बुटवल । बिहीबार बसेको प्रदेश नम्वर ५ को मन्त्रिपरिषदको बैठकले प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा भएका दैविक विपत्तिका घटनाका पीडित परिवारलाई राहत दिने निणर्य गरेको छ ।
बैठकले ०७४ फाल्गुन ३ गतेदेखि ०७५ पौष मसान्तसम्म आगलागी, चट्याङ, बाढी, पहिरो लगायतका विपत्तिमा परी मृत्यु भएका ५१ जनाको परिवारलाई प्रतिपरिवार एक लाख रुपैयाँका दरले राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भैतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

बैठकले दाङको राप्ती गाउँपालिका वडा नम्वर ७ बसन्तपुरमा अन्तरर्राष्ट्रियस्तरको रंगशाला बनाउने तथा दाङकै घोराही उपमहानगरपालिका वडा नम्वर १६ स्थित नेत्रलाल अभागी रंगशाला र बुटवल उपमहानगरपालिका वडा नम्वर १३ स्थित उजीर सिंह रंगशालाको स्तररोन्नति गर्ने निर्णय गरेको पनि मन्त्री चौधरीले जानकारी दिए ।

यस्तै प्रदेश नम्बर ५ सरकारले ६ वटा नयाँ बिदाहरु तय गरेको छ । जसमा ४ वटा प्रदेशभर लागू हुने छ भने १ दिन स्थानीय तहले र अर्को १ दिन स्थानीय समुदायमा आधारित बिदा हुने चौधरीले बताए ।

निर्णयसँगै बकर ईदको अवसरमा १ दिन, माघे सक्रान्ती तथा माघीमा २ दिन र प्रदेश स्थापना दिवसमा १ दिन गरी ४ दिन प्रदेशभर बिदा हुनेछ ।