१२ बैशाख २०८१, बुधबार
Follow Us

महरालाई कसले लगायो क्रिश्चियन धर्म प्रचारक संरक्षणको आरोप ?

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार १६:२६

काठमाडौं–‘क्रिश्चियन धर्म प्रचारका क्रममा पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन सभामुख कृष्ण बहादुर महराले प्रहरीलाई दबाब दिएको’ भन्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गरेका छन् ।
महराको सचिवालयले एक विज्ञप्ति जारी गर्दैै उक्त घटनाका बारेमा सभामुखलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको उल्लेख गरेको छ ।
विज्ञप्तिमा सुनियोजित ढंगले सभामुखमाथि गरिएको हमला गरिएको भन्दै उचित कानूनी उपचारको बाटो खोजिने उल्लेख गरिएको छ ।
केही दिनअघि दाङमा धर्म परिवर्तन र प्रचारमा हिंडेका दुई विदेशीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेपछि माथिल्लो तहबाट उनीहरुलाई छुटाउन दबाब आएको समाचार सार्वजनिक भएको थियो।

गाउँ–गाउँमा गाडी नै लिएर पैसासहित धर्म प्रचारमा हिँडेका अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले पक्राउ गरेको थियो।