८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकाको भर्जिनियामा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ घोषणा

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार १९:२५

डिसी । अमेरिकाको भर्जिनिया राज्यमा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ (नेपाल-अमेरिका सम्पदा दिवस) घोषणा भएको छ । भर्जिनिया राज्यको हर्नडन शहरले हरेक वर्ष अपि्रल महिनाको तेस्रो साता ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ मनाउने निर्णय गरेको हो ।

भर्जिनिया राज्यमा सरकारी स्तरमा ‘नेप्लिज अमेरिकन हेरिटेज डे’ घोषणा भएको यो पहिलोपटक हो ।

सन् २०१८ को चुनावमा नेपाली मूलका युवा प्रदीप ढकाल हर्नडन शहरको परिषद सदस्यमा निर्वाचित भएपछि उनकै पहलमा ‘नेप्लिज-अमेरिकन हेरिटेज डे’ मनाउने निर्णय भएको बताइएको छ । यो निर्णयले अमेरिकामा नेपालीको मान र इज्जत बढेको यहाँस्थित नेपालीहरु बताउँछन् ।

नेप्लिज अमेरिकन हेरिटेज डेको मान्यता पाएको खुशियालीमा आदर्श नेपाली समाज एवं एनआरएनए भर्जिनिया शाखाले गत शनिबार हर्नडन निम्न माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजनासमेत गरेका थिए । कार्यक्रममा नेपालीहरुको उल्लेख्य सहभागिता थियो । कार्यक्रममा नेपालका लागि अमेरिकाका पूर्वराजदूत स्कट डेलेसी तथा लोकगायक प्रेमराजा महतलाई सम्मान गरिएको थियो ।

सो अवसरमा हर्नडन शहरबाट हालै भएको ‘नेप्लिज अमेरिकन हेरिटेज डे’को घोषणा पत्रलाई उक्त शहरको काउन्सील सदस्यमा निर्वाचित नेपाली मूलका युवा प्रदीप ढकालले पढेर सुनाएका थिए । साथै नगरबाट प्राप्त घोषणा पत्र आदर्श नेपाली समाजका अध्यक्ष अर्जुन सिग्देल एवं एनआरएनए भर्जिनिया शाखाका सभापति गोविन्द सुवेदीलाई औपचारिक रूपमा हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा नेपाल झल्काउने विविध झाँकी, लाखे नाच, भेषभूषाको प्रदर्शनी तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । आदर्श नेपाली समाजद्वारा संचालित नेपाली स्कुलका बालबालिकाले दुवै देशका राष्ट्रिय गान गाउनुका साथै नेपाली पहिरनका साथ सभा स्थलमा मार्चपास गरेका थिए ।