१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘ग्रिनवीच महोत्सव’ जुलाई ६ मा

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार १९:३३

लण्डन । नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा साउथ ईस्ट लण्डनमा वर्षेनी आयोजना हुंदै आएको ग्रिनवीच कप प्रतियोगितालाई अबदेखि महोत्सवकै रुपमा आयोजना गरिने भएको छ ।

फुटबल तथा भलिबल प्रतियोगिताका साथै विभिन्न सांगीतिक प्रस्तुतिहरुसहित हुंदै आएको कार्यक्रमलाई अझै बढि व्यापक बनाउँदै यस वर्षदेखि ग्रिनवीच फेस्टिभलका रुपमा आयोजना गर्ने तयारी भइरहेको छ ।

विगतमा ग्रिनविच कप आयोजना हुंदै आएको वुल्वीचको रोयल आर्टिलरी ब्यारेककै ग्राउण्डमा आउंदो जुलाई ६ मा फेस्टिभल आयोजना गर्ने तय भइसकेको छ ।

यसै क्रममा यस ग्रिनवीच फेस्टिभल २०१९ को तयारीका समबन्धमा आयोजक नेप्लिज युथ एशोसिएसनले स्थानीय नेपाली समुदायका अगुवा र संघसंस्थाका प्रतिनिधिहरुसंग एक अन्तरक्रिया कार्यक्रम गरेको छ । गत शनिबार प्लमस्टिडमा सम्पन्न कार्यक्रमका सहभागीहरुले फेस्टिभललाई सफल पार्न आयोजकलाई विभिन्न सुझावहरु दिएका छन् ।

कार्यक्रममा स्थानीय नेपाली समुदाय र सबै संघसंस्थाहरुलाई समेट्न, युवाहरुको सहभागिता बढाउन, आवश्यक खर्चको लागि दिगो आर्थिक स्रोत जुटाउन, स्थानीय काउन्सिलसंग समन्वय गरी सहयोगको पहल गर्न लगायतका सुझाव समुदायका प्रतिनिधिहरुले दिएका थिए ।

युवाहरुको पहलमा आयोजना हुने यो फेस्टिभललाई समुदायको तर्फबाट आवश्यक साथ र सहयोगको वचन पनि उनीहरुले दिए ।

आयोजक एशोसिएसनका अध्यक्ष लक्ष्मण गुरुङले समुदायको तर्फबाट व्यक्त भएका सल्लाह, सुझावहरुप्रति धन्यवाद ज्ञापन गर्दै यीनै सुझावहरुलाई मनन गरी कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता गरेका थिए ।

कार्यक्रममा साउथ ईस्ट रिजनल तमु धिंका पूर्व अध्यक्ष श्रीचन्द्र गुरुङ तथा वर्तमान अध्यक्ष हिराप्रसाद गुरुङ, एशोसिएसनका संस्थापक अध्यक्ष ह्यारी गुरुङ तथा संस्थापक उपाध्यक्ष प्रसिद्ध प्रधान, बुद्ध फाउण्डेसन यूके अध्यक्ष दिपक श्रेष्ठ, पासा पुचः युके पूर्व अध्यक्ष कुमार श्रेष्ठ, पासा पुचः साउथ ईस्ट अध्यक्ष सुशील प्रजापति तथा उपाध्यक्ष मदनलाल श्रेष्ठ, स्किल एण्ड केयरका निर्देशक फत्त थापा, फेदिखोला समाज यूकेका अध्यक्ष हरि गुरुङ, एनआरएन यूके उपमहासचिव विनय अधिकारी लगायतका विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभातिा थियो ।

एशोसिएसनकी महासचिव रञ्जना राईले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष राजन खकुरालले स्वागत मन्तव्य दिएका थिए । अर्का उपाध्यक्ष डा सुदर्शन गुरुङले ग्रिनवीच कपको पृष्ठभुमि र विगतका संस्करणहरुबारे जानकारी गराएका थिए । कार्यक्रममा व्यक्त सुझावहरुको टिपोट मन्दिप केसीले गरेका थिए ।

एशोसिएसन अध्यक्ष लक्ष्मण गुरुङले गत वर्षको ग्रिनविच कपका आर्थिक विवरण प्रस्तुत गदै सहयोगी सबैप्रति आभार प्रकट गरेका थिए ।

महोत्सवको रुपमा आयोजना हुने यस वर्षको कार्यक्रममा विगतमा जस्तै फुटबल तथा भलिबल प्रतियोगिता र लाइभ संगीतका साथसाथै विभिन्न नेपाली खानाका स्टल, बालबालिकाको लागि खेलकुद, नेपाली सामग्री तथा व्यवसायहरुदेखि कला, संस्कृति झल्काउने स्टलहरुसहितका मनोरञ्जनात्मक आकर्षणहरु थप गर्ने आयोजकको तयारी छ ।