१६ चैत्र २०८०, शुक्रबार
Follow Us

काठमाडौंमा आन्दोलन, पोखरामा संकास्पद मस्ती !

नेपालब्रिटेन डट कम्
१३ बैशाख २०७६, शुक्रबार २०:०६

काठमाडौं–पोखरा विश्वविद्यालय अन्तर्गतका विभिन्न क्याम्पसहरुले ३९१ जना विद्यार्थीको भविष्य अन्योलमा पारेको भन्दै त्यसको विरोधमा नेविसंघभित्रको एक समूह विश्वविद्यालयविरुद्ध विरोधमा घुँडा धँसेर लागिपरेको छ । नेविसंघका पूर्व केन्द्रीय सदस्य नवराज त्रिपाठी नेतृत्वको समूह यो विषयलाई उचाल्दै निरन्तर आन्दोलनको ‘फन्दामा जुटिरहेको हो । कहिले धर्ना, कहिले प्रदर्शन, कहिले शिक्षामन्त्रीको तस्बिर जलाउने त कहिले तोडफोडमा उत्रिने सो समूहको दैनिकी नै जस्तो बनिरहेको छ ।

त्रिपाठी समूहले मापदण्ड विपरित पोखरा विश्वविद्यालयले भर्ना लिएर परीक्षामा सहभागी नगराएको मात्रै बताउँदै आएका छैनन् यसरी नियमविपरित भर्ना लिने क्याम्पसको सम्बन्धन खारेजी र कडाभन्दा कडा कारवाहीको माग समेत गर्दै आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।
यो विषयमा सो समूहले पोखरामा भन्नापनि काठमाडौं केन्द्रीत आन्दोलन चर्काउँदै आएको छ । पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त काठमाडौंका कलेजलाई तारो बनाएकोसो समूहले राजधानीको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा समेत छापामार शैलीमा प्रदर्शन गरेको थियो ।
गत बैशाख तीन गते उनीहरुले शिक्षामन्त्री गिरीराजमणि पोखरेल माफियाको चंगुलमा फसेको आरोप लगाउँदै उनको तस्बिर जलाउने प्रयास गरेका थिए ।

एकपछि अर्को गर्दैै पोखरा विश्वविद्यालयको विद्यार्थी भर्ना प्रकरणको विरोधमा त्रिपाठी समूह लागिपरेको भएपनि उनीहरुको कार्यशैलीको संगठनभित्रै प्रश्न उठ्न थालेको छ ।
पोखरा विश्वविद्यालयको नाममा काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएपछि उनीहरु बेलाबेला पोखरामा पार्टीलाई कुनै जानकारी नदिइ शंकास्पद गतिविधिमा संलग्न हुने गरेको पाइएको नेविसंघका एक नेताले दाबी गरे । ‘उहाँहरु पार्टीलाई समेत कुनै जानकारी नदिइ पोखरा पुग्नुहुन्छ । कहिले मस्तीको मुडमा भेटिनुहुन्छ । यसबारे संगठन गम्भीर बन्न जरुरी देखिन्छ ।’

यसैत आर्थिक चलखेलका कारण नेविसंघ भित्रको प्राविधि शिक्षा फाँटतर्फ पटक पटक विवाद देखिने गरेको छ। त्रिपाठीलगायतको पनि संकास्पद गतिविधि देखिनुले संगठनलाई असर पुग्न सक्ने ती नेता बताउँछन् ।

यसरी संगठनभित्र उनीहरुबारे टिकाटिप्पणी भइरहँदा र काठमाडौंमा आन्दोलन गरिरहँदा त्रिपाठीलगायत एकाएक पोखरा पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । केही दिनपहिले सुटुक्क पोखरा पुगेका त्रिपाठीसहितका उनका टीमका कार्यकर्ताहरु पोखराको चर्चित रोलिङ स्टोन रक बारमा झुल्किएका थिए । त्यहाँ बिन्दास मुडमा देखिएका उनीहरु कुन उद्देश्यले पोखरा पुगेका थिए भन्नेमा अहिले नेविसंघभित्रै चर्चाको विषय बन्ने गरेको छ ।

कतिपयले विश्वविद्यालयको यो सामान्य गल्तीलाई नेविसंघको एक समूहले मुभमेन्टको नाम दिएर कमाइ खाने भाँडो बनाउन लागिपरेको सम्मको टिप्पणी समेत गर्न थालेका छन् । त्रिपाठी उनै हुन् जो काठमाडौं केन्द्रीत रहेपनि पोखरा विश्वविद्यालयको तत्कालीन अधयक्षको हैसियतमा नेविसंघको केन्द्रीय समितिमा आएका थिए । यसबारे त्रिपाठीसँग सम्पर्कको प्रयास गर्दा सम्पर्कमा आएनन् ।
के हो विवाद ?
विश्वविद्यालयका आंगिक कलेजहरुले सबै विषयमा न्यूनतम ‘सी’ ग्रेड हासिल गरेका विद्यार्थीलाई मात्रै स्नातकमा भर्ना गर्नुपर्ने भएपनि सो भन्दा कम ग्रेड भएका विद्यार्थीहरुलाई पनि भर्ना लिएका थिए । पछि परीक्षाको बेला पोखरा विश्वविद्यालयको प्राज्ञिक परिषदले कक्षा ११ र १२ को परीक्षाका सबै विषयमा ‘सी’ ग्रेड हासिल नगर्ने विद्यार्थीहरुको परीक्षा फाराम दर्ता नै नगर्ने निर्णय गरेको थियो ।

सो निर्णयका कारण भर्नाभई अध्ययन गरिरहेका विद्यार्थी परीक्षाबाट बञ्चित भएका हुन् । नियमविपरीत विगत सात महीनादेखि महङ्गो शुल्क लिएर पढेका विद्यार्थीलाई विश्वविद्यालयले परीक्षा लिन अस्वीकार गरेर विद्यार्थीका भविष्यमाथि खेलबाड गरेको विद्यार्थीहरुको आरोप छ ।