१४ बैशाख २०८१, शुक्रबार
Follow Us

अन्तर्राष्ट्रिय विराट हिन्दू सम्मेलन काठमाडौंमा जारी

नेपालब्रिटेन डट कम्
५ कार्तिक २०७३, शुक्रबार ०७:०३

पूर्वराजा ज्ञानेन्द्र शाहले निषेधको राजनीतिले विद्रोह निम्त्याउने चेतावनी दिएका छन् । हिजोदेखि पशुपति क्षेत्रस्थित वनकालीमा आयोजित विराट हिन्दू सम्मेलनलाई विहीबार सम्बोधन गर्दै पूर्वराजा शाहले असन्तुलनले उपेक्षा जन्माउने र उपेक्षितमा विद्रोह जन्मिन सक्ने चेतावनी दिएका हुन् ।
गणतन्त्र स्थापनापछि पहिलोपटक सार्बजनिक सम्बोधन गरेका पूर्वराजा शाहले पछिल्लो समय देखिएको राजनीतिक अस्थिरता कारण देशमा बाह्य हस्तक्षेप र जनतामा चरम निराशा छाएको दावी पनि गरे ।
पूर्वराजा शाहले यस्तो परिस्थिति कसरी सिर्जना भयो भनेर जनताले प्रश्न गर्नुपर्ने बेला आएको धारणासमेत राखे । ‘बहुजन हिताय : बहुजन सुखाय’ मूल मन्त्रलाई आत्मसाथ गर्दै अगाडि बढ्नुको विकल्प नरहेको उनको भनाइ थियो ।
पूर्वराजा शाहले मौलिक चिनारी, परम्परागत धर्म र राष्ट्रिय सम्वेदनशीलतालाई हृदंगम गरी अघि बढे देशमा पुनः दिगो शान्ति स्थापना गर्न सकिने पनि बताए ।
पूर्वराजा शाहले हिन्दू धर्म विश्वकै महान र अनुकरणीय रहेको उल्लेख गर्दै नयाँ दर्शनभन्दा पनि नयाँ सोच आवश्यक रहेको औल्याए । तीन दिने सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गरेका विभिन्न देशका हिन्दू संघ–संस्थाका प्रतिनिधिले नेपाललाई हिन्दू राष्ट्र बनाउनु पर्नेमा जोड दिएका थिए ।