June 4, 2020
5:53 AM | 10:38 AM

यस्ता छन् अन्तर प्रदेश परिषद् बैठकका निर्णय, कार्यविधि पनि पारित

  27th April 2019 मा प्रकाशित

काठमाडौँ–प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको अन्तर प्रदेश परिषद्को तेस्रो बैठकले आफ्नो कार्यविधि पारित गरेको छ । बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटका सन्दर्भमा प्रदेशका मुख्यमन्त्री, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, जिल्ला समन्वय समितिलगायतका पदाधिकारीसँग रायसल्लाह लिएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदबारमा बिहीबार बसेको बैठकले अघिल्ला बैठका निर्णयको समीक्षा र सम्पादन गर्न बाँकी रहेका कामलाई सङ्घ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा अघि बढाउने एवं समयमा नै सम्पन्न गर्ने निर्णय गरेको उनले जानकारी दिए । सङ्घ, प्रदेश र स्थानीय तहको काम–कर्तव्यलाई व्यवस्थित गर्न बनेको विधेयकलाई संसद्बाट छिट्टै पारित गराउन पहल गर्ने निर्णय पनि बैठकले गरेको छ ।

सङ्घ, प्रदेश र स्थानीय तहको साझा र परिपूरक भूमिकालाई अझ व्यवस्थित गरेर अघि बढ्न सरकार निश्चिन्त रहेको बताउँदै अर्थमन्त्री खतिवडाले भने, “सरकारको नीति तथा कार्यक्रम र बजेटलाई अगाडि बढाउने, सरकारले घोषणा गरेका विकासका आधारको जगमा टेकेर अगाडि बढ्ने र जनताका आधारभूत सेवासुविधालाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा केन्द्रित रहेर छलफल भयो ।”

सङ्घको कानून निर्माणमा केही ढिलाइ हुँदा प्रदेश कानून निर्माणमा पनि विलम्ब हुन गएको, कर्मचारी समायोजनमा भएको ढिलाइका कारण स्थानीय तहमा कर्मचारी अभाव हुन गई चाहेअनुरुपम विकास निर्माणका कार्य अघि बढाउन नसकिएको विषय बैठकमा उठेको बताउँदै उनले बजेट कार्यान्वयनमा देखिएको झन्झट र खरीद प्र्रक्रिया पूर्वाधार निर्माणसम्बन्धी काम ढिलाइ भएको विषय प्रदेश र स्थानीयतर्फबाट उठाइएको जानकारी दिए ।
मन्त्री खतिवडाले तीन तहको लेखा प्रणालीका कारण बजेट निकासी र खर्च गर्ने कुरामा झन्झटिलो हुने गरेको विषय पनि बैठकमा सहभागीले गुनासो गरेको बताए ।

सो बैठकमा प्रधानमन्त्री ओलीले सङ्घ, प्रदेश र स्थानीय तह एकजुट भएर विकासको एजेण्डालाई कार्यान्वयनमा लैजान मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए ।

प्रतिक्रिया