८ बैशाख २०८१, शनिबार
Follow Us

जनकपुर पुगेर प्रदेश नम्बर २ सरकारसँग रिसाए बादल

sarusaru
१४ बैशाख २०७६, शनिबार ०७:५५

जनकपुर–गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको भन्दै असन्तुष्टि जनाएका छन् । संविधानमै नभएको व्यवस्था गरेर प्रदेश २ सरकारले आफ्नै सिडिओ राख्न खोजेको गृहमन्त्रीको आरोप छ ।

प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन जनकपुरधाम आएका गृहमन्त्री थापाले शनिबार पत्रकारसँग कुराकानी गर्दै प्रदेशले आफ्नै सिडिओ राख्ने व्यवस्था संविधानमै नभएको बताए ।

यस्तै सुरक्षा गोष्ठीलाई शनिबार जनकपुरमा सम्बोधन गर्दै गृहमन्त्री बादलले अराजक गतिविधिमा लागेकहरुलाई नियन्त्रणमा लिइ सरकारले शान्ति सुरक्षा कायम राख्नमा महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबी गरे ।

सिके राउत तर्फ ईंगित गर्दै उनले अलग देशको माग लिएर आन्दोलन गर्दै आएकालाई मुलधारमा ल्याइनु महत्वपूर्ण उपलब्धि भएको बताए ।
उनले मुलुकको हित विपरित कार्य गर्ने विप्लव समूह नसच्चिए तह लगाएरै छाडिने पनि चेतावनी दिए ।

उनले छिट्टै नै प्रदेश प्रहरीदेखि जिल्ला प्रहरी कार्यालय समेत प्रदेश सरकारको मातहतमा जाने स्पष्ट पारे । प्रदेश प्रहरी सम्बन्धी विधेयक सांसदमा प्रस्तुत भइसकेकाले छिट्टै हरेक प्रदेशले आफ्नो सुरक्षा आफै गर्न सक्ने अधिकार प्राप्त गर्ने उनको भनाई थियो ।

गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप प्रदेश २ मा प्रदेश स्तरीय सुरक्षा गोष्ठी जनकपुरधाममा जारी रहेको हो ।