१४ बैशाख २०८१, शुक्रबार
Follow Us

इंगल्याण्ड र नेपालको राष्ट्रिय फूटबल टिम बीच ऐतिहासिक खेल हुने

नेपालब्रिटेन डट कम्
१४ बैशाख २०७६, शनिबार १२:१०

लण्डन । लन्डनस्थित नेपाली दूतावास तथा यूके नेपाल फ्रेंडशिप सोसाइटीको संयुक्त आयोजनामा शुक्रबार दूतावासमा नेपाल लगानी सम्मेलन शृंखला अन्तर्गत छैठौं कार्यक्रम आयोजना गरियो। सम्मेलनमा नेपालमा व्यापार तथा पर्यटन प्रवर्धनमा जोड दिईएको थियो।

समारोहका प्रमुख अतिथि तथा लन्डनका लर्ड मेयर पिटर एस्लिनले विश्वकै अग्ला हिम चुचुराहरुका साथै अत्यन्त मिलनसार मानिसहरु बसोबास गर्ने नेपाल ब्रिटेनको एउटा निकट मित्र राष्ट्र भएको बताए। उनले एस अघि आफुले २ पटक नेपालको भ्रमण गरिसकेको र आउँदो सेप्टेम्बर महिनामा फेरी नेपालको भ्रमणमा जान लागेको बताए। नेपालमा जल विद्युत, पूर्वाधार तथा फोहर व्यबस्थापन लगाएतका क्षेत्रमा लगानी गर्न ब्रिटिश लगानीकर्ता हरु इच्छुक रहेको बताए। ब्रिटेनले नेपालको आर्थिक समृद्धिमा सघाउन जारी राख्नेमा पनि उनले जोड दिए।

सहभागीहरुलाई स्वागत गर्दै बेलायतका लागि नेपाली राजदूत डा दुर्गा बहादुर सुबेदीले ब्रिटेन र नेपालबीच कायम ऐतिहासिक सम्वन्ध जनस्तरमा पनि बलियो बन्दै गएको बताए। उनले राजनीतिक स्थिरताका कारण पनि वैदेशिक लगानीका लागि नेपाल एउटा आकर्षक गन्तव्य बनेको र गत मार्च महिनामा काठमाडौँमा सम्पन्न लगानी सम्मेलनले लगानीकर्ताहरुका लागि उत्साहको वातावरण सिर्जना गरेको बताए। उनले आउँदो वर्ष नेपाल भ्रमण वर्ष २०२० को अवसरमा सपरिवार नेपालको भ्रमण गर्न ब्रिटिश मित्रहरुलाई आग्रह पनि गरे।

अल्डरशटबाट प्रतिनिधित्व गर्ने साम्सद लियो डोचर्टीले आफ्नो निर्वाचन क्षेत्रमा झन्डै १५,००० भूतपूर्व गोर्खा तथा तिनका परिवार बसोबास गरिरहेको बताए। उनले यो ब्रिटेनमा आप्रवासी समुदायको अत्यन्त सफल एकीकरणको एउटा उदाहरण भएको पनि बताए। उनले भूतपूर्व गोर्खा सैनिकहरुको पेन्सन वृद्धि गर्ने विषय आफुले संसदमा उठाउदै आएको र हालै ब्रिटिश सरकारले ब्रिटिश गोर्खाहरुको पेन्सनमा उल्लेख्य वृद्धि गरेको बताए।

परराष्ट्र मन्त्रीका प्रेस सल्लाहकार सुधन ज्ञवालीले ब्रिटेन र नेपाल बीचको ऐतिहासिक सम्वन्ध २१ औं शताब्दीमा अरु बलियो हुँदैगएको बताए। उनले आर्थिक विकासका लागि नेपालमा लगानीको आवश्यकता रहेको र अधिकांश उद्योगहरुमा नेपालले १०० प्रतिशत सम्म विदेशी लगानी खुला गरेको पनि जनाए। उनले आउँदो वर्ष सन् २०२० मा नेपालको भ्रमण गर्न सबै पाहुनाहरुलाई आमन्त्रण पनि गरे।

यूके नेपाल फ्रेंडशिप सोसाइटीका अध्यक्ष एलन मार्सेल स्यांकाले सन् २०२१ मा ब्रिटेनमा गर्न लागिएको जनगणनामा नेपालीहरुलाई छुट्टै समुदायको रुपमा गणना गर्न लागिएको जनाए। विभिन्न स्थानमा बसोबास गर्ने नेपालीहरुको संख्या कति छ भन्ने थाहा भए पछि मात्रै उनीहरुलाई आवश्यक सेवा, सुविधाबारे योजना बनाउन सकिने भएकाले जनगणनामा कोहि पनि न छुट्न उनले आग्रह गरे।

आफ्नो प्रश्तुतिमा फार्नबरो स्थित कम्पनि जिनार्जीका प्रमुख कार्यकारी अधिक्रीत सेवानिवृत्त मेजर टिकेन्द्र दल देवानले बेलायतको अत्यन्त प्रतिस्पर्धी उर्जा बजारमा पनि आफुहरुले ग्राहकहरुको मन जित्न सफल भएको बताए। उनले झन्डै पांच वर्ष अघि भूतपूर्व गोर्खाहरुले स्थापना गरेको कम्पनीले ग्राहकहरुको घरघर मै ग्यास तथा विद्युतको सुपथ र भरपर्दो सेवा प्रदान गरिरहेको बताए। उनले ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका सदस्यहरुले नेपालमा सार्दी १ र सार्दी २ जलविद्युत योजनाहरुमा लगानी गरेको र ती योजनाको निर्माणमा कुनै वाधा खेप्नु नपरेको पनि बताए।

कार्यक्रममा यूके नेपाल फ्रेंडशिप सोसाइटीका रणनीतिक सल्लाहकार डा रेमंड डेभिस, सिटि अफ लन्डनका वित्तिय समन्वयकर्ता डा मेइरियन मोर्गन लगायतका वक्ताहरुले आफ्नो कम्पनीका गतिविधि र नेपालमा लगानीका अवसरहरुबारे बोलेका थिए।


ऐतिहासिक खेल

इंगल्याण्ड फुटबल एसोसियसनको न्यास्नल लिग सिस्टमका प्रमुख लरेन्स सी जोन्सले आउँदो वर्ष ३० मे २०२० मा इंगल्याण्ड सी टिम र नेपालको राष्ट्रिय फूटबल टिम बीच बेलायतमा ऐतिहासिक खेल हुने घोषणा गरे। नेपाली फूटबल टोलिले वेम्ली स्टेडियम को भ्रमण गर्ने, नेपाली दूताबासले सो टोलिको सम्मानमा विशेष स्वागत समारोहको आयोजना गर्ने तथा सो भ्रमणलाई फुटबल तथा नेपाली संस्कृतिको महोत्सवको रुपमा मनाइने पनि उनले बताए। त्यस्तै सन् २०२१ मा इंगलिश फुटबल टोलिले नेपालको भ्रमण गर्ने पनि उनले जनाए।

कार्यक्रममा नेपाली सांगीतिक प्रश्तुति पनि गरिएको थियो।